
कृषि ज्ञान केन्द्र खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र शुभम् फाउन्डेसनले संयुक्त रूपमा आयोजना गरेको कोदो दिवसमा बिस्कुटसँगै केक, मोमो, कुकिज, सेलरोटी, सुक्खा रोटी, खिर र तोङ्बा प्रदर्शनीमा राखिएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्धारण गरेको मापदण्ड पूरा गरेर कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन सुरु गरिएको शुभम् फाउण्डेशनका कार्यकारी निर्देशक सूर्यबहादुर राईले जानकारी दिए ।
कोदोको परिकारलाई बजारीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले व्यावसायिक रूपमा ‘दिक्तेल कोदो बिस्कुट’ उत्पादन सुरु गरेकाे उनले बताए ।
शुभम् फाउन्डेसनले व्यावसायिक रूपमा उत्पादन गरेको कोदोको बिस्कुट स्वादिष्ट, गुणस्तरीय र स्वास्थ्यकर भएकाले प्रवर्द्धन गर्न सबैको सहकार्य आवश्यक रहेको जिल्ला समन्वय समिति प्रमुख राईले बताए ।
रैथाने बाली संरक्षण तथा प्रवर्द्धन गर्दै कृषकलाई उत्पादनसँग जोड्न नगरपालिकाले १७ औँ नगर सभाबाट नीति तथा कार्यक्रम पारित गरेर लागू गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यबाहक नगरप्रमुख विशन राईले जानकारी दिए ।
शुभम् फाउन्डेसनले उत्पादन गरेको कोदोको परिकार नगरपालिकाभित्र सञ्चालित विद्यालयहरूमा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजाको रूपमा उपयोग गर्ने/गराउने विषयमा समेत तयारी गरिएको नगरपालिकाले जनाएको छ । कोदोबाट उत्पादित परिकार उपभोग गर्दा मधुमेह, मुटु रोग, एनिमिया नियन्त्रण तथा हड्डी बलियो बनाउने र रगतको मात्रा बढाउने औषधीय गुण हुने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

























