
काठमाडौं । नेपालले आज (बुधबार) एएफसी यू–२० महिला एसियन कप छनोटको पहिलो खेलमा घरेलु टोली भुटानको सामना गर्दैछ ।
भुटानको राजधानी थिम्पुस्थित चाङलिमियाङ रंगशालामा साँझ पौने ६ बजे खेल सुरु हुनेछ । पहिलो पटक यू–२० महिला एसियन कपको छनोट खेल्न लागेको नेपाली टोली यसपटक उच्च मनोबलसहित भुटान पुगेको हो ।
समूह ‘ए’ मा रहेको नेपालले भुटानसँगको खेलमार्फत छनोट अभियानको थालनी गर्दैछ । यसै समूहमा एसियन कप च्याम्पियन उत्तर कोरिया र साउदी अरब पनि छन् । मंगोलियाले भने प्रतियोगिताबाट नाम फिर्ता गरिसकेको छ ।
नेपालका प्रशिक्षक यामप्रसाद गुरुङले प्रतियोगिताको पूर्वसन्ध्यामा आफ्नो टोली छनोट चरण पार गर्न सक्षम रहेको विश्वास व्यक्त गरे । उनले घरेलु टोली भुटान सहज प्रतिद्वन्द्वी नभएको उल्लेख गरे ।
नेपाल हालै सम्पन्न साफ यू–२० महिला च्याम्पियनसिपमा उपविजेता बनेको थियो । प्रतियोगितामा नेपालले भुटानलाई २ खेलमा फराकिलो अन्तरले हराएको थियो ।
नेपालले भुटानमाथि पहिलो खेलमा ६–१ र दोस्रोमा ८–० को जित हात पारेको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि फाइनलमा बंगलादेशसँग ४–० ले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको थियो ।
कप्तान बिर्सना चौधरीका अनुसार टिमले सबै प्रतिद्वन्द्वीलाई ध्यानमा राखेर तयारी गरेको छ । साउदी अरबको महिला टिम तुलनात्मक रूपमा कमजोर मानिए पनि प्रशिक्षक गुरुङ सतर्क देखिएका छन् ।
भुटानकी प्रशिक्षक टंकमाया घलेले नेपालविरुद्ध सकारात्मक उर्जाका साथ मैदान उत्रने बताउँदै २ नयाँ खेलाडीलाई टिममा समावेश गरिएको जानकारी दिइन् । भुटानी कप्तान सोनाम छोमोले घरेलु समर्थकको साथ रहने भएकाले आत्मविश्वासका साथ खेल्ने बताइन् ।
समूह ‘ए’ बाट शीर्ष स्थानमा रहने टोली र अन्य समूहका विजेतासँगै उत्कृष्ट ३ उपविजेता टोलीले २०२६ मा थाइल्यान्डमा हुने यू–२० महिला एसियन कपमा स्थान बनाउने छन् । यस पटक ८ समूहबाट कुल ११ टोली छनोट हुनेछन् । छनोटमा ३२ राष्ट्र सहभागी छन् ।
उत्तर कोरियाका प्रशिक्षक री सोङ होले भुटानको उचाइ र मौसमका कारण आफ्ना खेलाडीलाई अलि कठिन हुन सक्ने बताए । साउदी अरबका प्रशिक्षक जेभियर भिलामालाले मौसमसँग अभ्यस्त गराउन टिमलाई २० दिन अघिनै भुटान पुर्याइएको जानकारी दिए ।

























