
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
भारतमा भएको म्याट्रिक्स फाइट नाइट टाइटल विजेता रवीन्द्र ढाँटको सम्मानमा राष्ट्रपति भवन शीतल निवासमा भएको स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले देशलाई विश्वभर चिनाउने खेल क्षेत्रको विकास एवं खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्ने बताएका हुन् ।
उनले देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीहरूले कीर्तिमान र सफलता हासिल गर्न सक्नेमा जोड दिए ।
व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा खेलको महत्त्व रहेको बताउँदै, पौडेलले भने, ‘खेल क्षेत्रको विकासमा सरकार, खेलसँग सम्बन्धित संस्था र निकायले आगामी दिनमा अझै प्रभावकारी ढंगले काम गर्न क्रियाशील हुने विश्वास लिएको छु ।’
उनले बझाङको बाघ भनेर परिचित नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटले आफ्नो खेल कौशल, सामर्थ्य, शक्ति र खेलप्रतिको अगाध समर्पणले यो उपाधि जित्न सफल हुनु नेपालीहरूका लागि गौरवको विषय भएको बताए ।

























