
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले भीमबहादुर तामाङ र सुस्मिता थापा मगरलाई वर्ष उत्कृष्ट खेलाडी अवार्ड २०८१ बाट बुधबार सम्मान गरेको छ ।
पुरुषमा भीम तथा महिलामा सुस्मिताले वर्ष उत्कृष्ट खेलाडी अवार्डसहित नगद पुरस्कार प्राप्त गरे ।
भीमले २४ औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा ३ स्वर्ण जितेका थिए भने त्यही प्रतियोगितामा सुस्मिताले २ स्वर्ण जितेकी थिइन् ।
महासंघले आफ्नो २८ औँ वार्षिकोत्सवमा वर्ष खेलाडीसहित वर्ष उत्कृष्ट प्रशिक्षक, प्रदेश संघ र जिल्ला संघलाई पनि सम्मान गरेको थियो ।
प्रशिक्षकमा आकाशचन्द्र घर्ती मगर, प्रदेश संघमा गण्डकी र जिल्ला संघमा गुल्मी उत्कृष्ट चुनिए ।
सोही अवसरमा गत अगस्ट १९ देखि २६ तारिखसम्म भारतमा भएको १० औँ एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताका स्वर्ण विजेता किशोर श्रेष्ठ र राजमन्दिर श्रेष्ठ तथा रजत विजेता चन्द्रबहादुर तामाङलाई सम्मान गरियो ।
उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य अञ्जन धमला, आईटीएफका अध्यक्ष प्रवीणकुमार कार्की, महासचिव घमबहादुर थापालगायतले सम्मान गरे ।


























