
विराटनगर। कोशी प्रदेश कराँते महासंघको अध्यक्षमा मोरङका प्रभाकर राना मगर (रिक्की) निर्वाचित भएका छन् ।
शुक्रबार मोरङको बुढीगंगा गाउँपालिकास्थित टंकीसिनवारीमा भएको प्रथम प्रदेश अधिवेशनबाट राना अध्यक्षमा निर्वाचित भएका हुन् । रानाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको छ ।
समितिको उपाध्यक्षद्वय इलामका कमी राई र उदयपुरका रविन राई, सचिवमा खोटाङका मिलन कसजु, सहसचिवमा सुनसरीका अनिष राजधामी तथा कोषाध्यक्षमा झापाकी रेनुका राई निर्वाचित भए ।

त्यस्तै, सदस्यहरूमा इलामकी मनकुमारी मुखिया, संखुवासभाका दीपक मगर, ओखलढुंगाका राजन दाहाल र झापाका संजयकुमार साह निर्वाचित भएको निर्वाचन अधिकृत कालिदास भट्टराईले जानकारी दिए ।
प्रथम अधिवेशनको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा कोशी खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले गरेका थिए ।
सो अवसरमा कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष बिन्दिया कार्की, बोर्ड सदस्य प्रदीप भगत थारु, नेपाल कराँते महासंघका महासचिव केन्द्रीय सदस्य मिलनराज प्रसाईं, सिताेरियाे साेबुकान कराँतेका केन्द्रीय महासचिव धाेजमान मोक्तानलगायत प्रदेशका कराँते खेलकर्मीहरूको उपस्थिति रहेको थियो ।

























