
काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस, २०२५ को अवसरमा राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश समितिले मेन्स डबल ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको छ ।
उद्घाटन खेलमा संगठन समन्वय प्रमुख भानुभक्त ढकाल र उपाध्यक्ष महाराज गुरुङ तथा संगठनका अध्यक्ष क्षितिज थेवे र इन्चार्ज राजीव पहारीबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा अध्यक्ष क्षितिज थेवेको टिम विजयी भयो ।
उद्घाटनपछि प्रतियोगितात्मक खेलहरु भए । प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट २४ टिम सहभागी भएका थिए । प्रतियोगितामा राम मल्ल ठकुरी र लक्ष्मण मल्ल ठकुरी प्रथम, कमल लामा र गोविन्द थापा द्वितीय तथा सिरोर्ड सुवाल र संयोग बस्नेत एवं विश्वराज आले र राकेश डंगोलको टिमले तृतीय स्थान हासिल गरेको छ ।
विजयी टिमलाई आयोजक समितिले नगद र ट्रफी प्रदान गरेको थियो । खेललाई सभ्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग पुर्याउने मुख्य प्रशिक्षक सुदीप योञ्जन, रेफ्री तथा सम्पूर्ण खेलाडीलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ ।
नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता बागमती प्रदेश समिति संयोजक हरि शरण जमरकट्टेलले गरेका थिए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं युवा संघका इञ्चार्ज राजीव पाहारी, युवा संघका अध्यक्ष क्षितिज थेवे, उपाध्यक्ष महाराज गुरुङ र विनय शाह, महासचिव महेश चौलागाई, उप–महासचिव उपेन्द्र शाही, सचिव मदन भण्डारी, कार्यालय प्रमुख राजु तिवारीलगायत युवा संघको केन्द्रीय नेताहरु उपस्थित थिए ।

























