
विराटनगर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर उद्योग संगठन मोरङको महिला उद्यम समितिले ‘उद्यम यात्रा, अनुभव र उत्प्रेरणा’ विषयक युवा उद्यम संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
युवाहरूमा उद्यमशीलतासम्बन्धी ज्ञान र प्रेरणा जगाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सफल स्टार्टअप व्यवसायीहरूले आफ्ना अनुभव र चुनौती सुनाउँदै सहभागीलाई व्यावसायिक विकासको व्यावहारिक ज्ञान र प्रेरणा प्रदान गरे ।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले विश्व बजारमा युवाहरूको उद्यमशीलता बढ्दै गएको र उनीहरूको सृजनात्मक सोचले देशको आर्थिक विकासमा ठुलो योगदान पुर्याउने बताए ।
त्यस्तै, संगठनको महिला उद्यम समितिकी इन्चार्ज किरण ब्यासले युवा र महिलालाई उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् ।
उनले समिति सधैँ महिला र युवालाई आत्मनिर्भर बनाउने दिशामा अग्रसर रहने स्पष्ट पार्दै युवा उद्यम संवादले युवा पुस्तालाई व्यावसायिक यात्रा सुरु गर्न हौसला प्रदान गर्ने धारणा राखिन ।
समितिकी संयोजक जयन्ती आचार्यले युवाहरू आर्थिक विकासका संवाहक भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले स्वदेशमै बसेर उद्यम गर्न युवाहरूलाई प्रेरित गर्ने बताइन् ।
कार्यक्रममा विभिन्न स्टार्टअप व्यवसायीहरूले आफ्ना अनुभव सुनाउँदै रवि गुप्ताले व्यवसाय सुरु गर्दा आउने समस्या र चुनौतीहरूका बाबजुद निरन्तर प्रयास र सही निर्णयले सफलता पाउन सकिने बताए ।
अर्की उद्यमी तारादेवी अधिकारीले व्यवसायलाई छोटो समयमा व्यापक बनाउन सामाजिक सञ्जाल र डिजिटल मार्केटिङको सही प्रयोग महत्त्वपूर्ण हुने धारणा राखिन् ।
महिला उद्यमी लक्ष्मी घिमिरेले स्विट्जरल्यान्ड भ्रमणका अनुभव सुनाउँदै त्यहाँका महिला उद्यमीहरूको अनुशासन, पद्धति र गुणस्तरप्रतिको प्रतिबद्धताले आफूलाई प्रभावित पारेको र यसले व्यवसाय विकासमा ठुलो सहयोग पुग्ने बताइन् ।
कार्यक्रममा विभिन्न उद्यम समितिका सदस्य, कलेजका विद्यार्थी, उद्यमशीलतामा रुचि राख्ने युवा र स्टार्टअप उद्यमीहरूको सहभागिता रहेको थियो ।

























