
काठमाडौं । अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध दायर गरिएको अवहेलना र उत्प्रेषणको रिट उच्च अदालत पाटनले खारेज गरिदिएको छ ।
अदालतका न्यायाधीश ऋषिराज भण्डारी र प्रकाश खरेलको इजलासले काठमाडौं महानगरपालिका –४ का गौरव थापाले दायर गरेको मुद्दालाई खारेजी गरेको हो ।
नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाका अध्यक्ष नेम्वाङविरुद्द थापाले गएको वैशाख २३ गते उत्प्रेषण र जेठ २ गते अवहेलनाको मुद्दा दायर गरेका थिए ।
थापाले दायर गरेको अवहेलना मुद्दा सुरु क्षेत्राधिकार दुनियाँवादी फौजदारी किसिमको रहेको थियो । त्यसैगरी, अदालतले गत असार ४ गते एन्फाका पूर्व अध्यक्ष गणेश थापाले दायर गरेको अवहेलनाको मुद्दा पनि दाबी नपुग्ने फैसला गरेको थियो ।
अध्यक्ष नेम्वाङविरुद्ध पूर्व अध्यक्ष थापाले गत वैशाख १९ गते उत्प्रेषण र वैशाख ३१ गते अवहेलनाको मुद्दा दायर गरेका थिए ।
सो मुद्दामा न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र कृष्णराज कोइरालाले दाबी नपुग्ने फैसला गरेका थिए । पूर्व अध्यक्ष थापा यसअघि १० वर्ष फिफाको कारबाहीमा परेर केही महिनाअघि फुकुवा भएका हुन् ।
नेपाली फुटबलमा भएको भ्रष्टाचार अभियोगमा उनी विरुद्ध करिब ४ वर्ष अनुसन्धानपछि २०७२ सालमा कारबाही भएको थियो । फिफाको इथिक्स कमिटीले सन् २००९ र २०११ म भएको फिफा कार्यसमिति निर्वाचनमा एसियाली प्रतिनिधि चयन गर्ने क्रममा रकम लिएको आरोप रहेको थियो ।
सो क्रममा कमिटीले थापासँग १९ हजार ८ सय ५० अमेरिकी डलर जरिवानाको समेत निर्णय गरेको थियो । मुद्दा दायर गर्ने गौरव थापा पूर्व अध्यक्ष गणेशका छोरा हुन् ।
अर्काेतर्फ, अध्यक्ष नेम्वाङले सत्यको जित हुने बताएका छन् । फुटबलको विकासमा एन्फाको टोली खटिएको बताउँदै उनले पछिल्लो समय गलत भाष्यबाट फुटबललाई कमजोर बनाउने कार्य हुँदै गएको बताए ।
यससँगै उनले नेपाली फुटबलको विकासमा सबै एकजुट भएर सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

























