
विराटनगर । कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय उद्घाटन गरेको छ । प्रदेशको राजस्व संकलनमा सहजीकरण गर्ने उद्देश्यले कार्यालय सञ्चालनमा ल्याइएको हो ।
प्रदेशको क्षेत्राधिकार भित्रपर्ने विषयमा आवश्यक सहजीकरण गर्न र प्रदेशको राजस्वलाई वृद्धि गर्नको लागि सोमबारदेखि कार्यालय सञ्चालनमा ल्याइएको प्रदेश सरकारले जनाएको छ । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले सुनसरीको इटहरीमा प्रदेश राजस्व कार्यालयको उद्घाटन गरेका हुन् ।
कार्यालयको उद्घाटन गर्दै मन्त्री रानाले प्रदेश सरकारले सोचेअनुसारको राजस्व संकलन गर्न नसकिरहेको परिप्रेक्ष्यमा कार्यालय उद्घाटन गरिएको बताए । जनतालाई करको बोझ नहुने गरी राजस्व वृद्धि गर्नका लागि कार्यालय सञ्चालनमा ल्याइएको उनले स्पष्ट पारे ।
‘कुन–कुन क्षेत्रबाट राजस्व उठाउन सकिएको छैन, त्यसको पहिचान गरेर कार्यालयले राजस्व उठाउन सहजीकरण गर्नेछ,’ उनले भने । प्रदेश सरकारहरूमा पहिलोपटक कोशी प्रदेश सरकारले यस्तो कार्यालय स्थापना गरेको हो ।
कोशी प्रदेश सरकारले गत आर्थिक वर्षमा ४ अर्ब ९८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ९८ प्रतिशत सफलता हासिल गरेको थियो । चालु आर्थिक वर्षमा ५ अर्ब ५० करोड राजस्व उठाउने सरकारको लक्ष्य छ ।
कार्यालय उद्घाटन समारोहमा कोशी प्रदेशसभा सदस्य (प्रदेश सांसद) रमेश बस्नेत, सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, मुख्यमन्त्री हिक्मतकुमार कार्कीका आर्थिक सल्लाहकार डाक्टर मोहन सुवेदी लगायतले बोलेका थिए । प्रदेश सरकारले शाखा अधिकृत विदुर पौडेललाई प्रदेश राजस्व कार्यालयको प्रमुखका रूपमा खटाएको छ ।

























