
झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अलैँचीको उत्पादन तथा निर्यात बढाउन प्रदेश सरकारले पूर्णरूपमा सहयोग गर्ने घोषणा गरेका छन् ।
नेपाल अलैँची व्यवसायी महासंघको पाँचौं महाधिवेशनलाई शनिबार झापाको बिर्तामोडमा सम्बोधन गर्दै उनले अलैँचीको नर्सरी विकासदेखि बजार प्रवर्धनसम्ममा राज्यको नीतिगत तथा आर्थिक साथ रहने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘अलैँची, चिया, बाँस र दुग्ध पदार्थलगायतका क्षेत्रमा उत्पादन र बजार विस्तार भएमा कोशी प्रदेश समृद्धिको यात्रामा तीव्र गतिमा अघि बढ्छ । यसका लागि प्रदेश सरकारले स्रोतसाधन जुटाउनेछ ।’
मुख्यमन्त्री कार्कीले स्वीस सरकारको सहयोगमा सुरु गरिएको ‘उदय’ परियोजनामार्फत साना तथा मझौला व्यवसायलाई बल मिल्ने उल्लेख गर्दै ३० लाखदेखि ३ करोड रुपैयाँसम्मको लगानी गर्ने योजना अघि सारेका छन् । साथै, चियासम्बन्धी कार्यालय काठमाडौंमा सीमित नभइ उत्पादन क्षेत्रमै स्थापना हुनुपर्ने धारणा पनि उनले व्यक्त गरे ।
महासंघका अध्यक्ष निर्मल भट्टराईले भोजपुर र संखुवासभालगायतका समेटेर अलैँची ‘सुपरजोन’ स्थापना गर्न सरकारसँग आग्रह गरेका छन् । उनका अनुसार हाल वार्षिक ७ देखि १० अर्ब रुपैयाँ बराबरको अलैँची निर्यात हुँदै आएको छ ।
महाधिवेशनमा १६ जिल्लाका प्रतिनिधिहरू सहभागी छन् । कार्यक्रममा उत्कृष्ट निर्यातकर्ता, उत्कृष्ट किसान तथा कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

























