
विराटनगर । संखुवासभाको खाँदबारीमा भएको यू-१४ अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधि छात्रतर्फ हिमालय माध्यमिक विद्यालय र छात्रातर्फ सूर्य बोर्डिङ स्कुलले जितेको छ ।
मकवानपुरको एन्फा एकेडेमीका ६ जना फुटबलरको पहिरोमा परेर निधन भएको स्मृति संखुवासभा जिल्ला फुटबल संघले छात्र / छात्रा अन्तर विद्यालय स्तरीय प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगिताअन्तर्गत यु १४ छात्रतर्फ हिमालय माध्यमिक विद्यालयले कुनिना बोर्डिङ स्कुललाई ३–१ गोलअन्तरमा पराजित गर्दै उपाधि जितेको हो ।
जितसँगै हिमालयले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता कुनिनाले नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाए ।
सेमिफाइनलमा पराजित महेन्द्र माध्यमिक विद्यालय र गोल्डेन स्टार बोर्डिङ स्कुललाई सान्त्वना स्वरुप जनही नगद २ हजार ५ सय रुपैयाँ दिएको संघका अध्यक्ष भरतकुमार घिमिरेले जानकारी दिए ।
त्यस्तै, यु १४ छात्रातर्फ सूर्य बोर्डिङ स्कुलले कुनिना बोर्डिङ स्कुललाई सडेन डेथमा पराजित गर्दै उपाधि जितेको हो । सूर्य विजयी हुँदै नगद ५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पायो भने उपविजेता कुनिनाले नगद २ हजार ५ सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाण प्राप्त गरे ।
प्रतियोगितामा छात्रतर्फ १२ टिम र छात्रातर्फ ६ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरूलाई खाँदबारी नगरपालिकाकी उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्यलगायतले पुरस्कार प्रदान गरे ।

























