
काठमाडौं । एकेएफ यु–२२ कराँते च्याम्पियनसिपको २३ औँ संस्करणमा सहभागी हुन ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली मंगलबार चीनको शाओगाउँ जाने भएका छन् ।
सेप्टेम्बर ५ देखि ७ तारिखसम्म हुने प्रतियोगितामा ६ पुरुष र ३ महिला गरी ९ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुष ६७ केजीमुनि प्रदीप बइजाली मगर, कातामा जावेद रेहान, ५५ केजीमुनि साइमन श्रेष्ठ, ६८ केजीमुनि निशान तामाङ, ६१ केजीमुनि सन्दीप तामाङ र ७६ केजीमाथि निगम तिम्सिनाले प्रतिस्पर्धा गर्ने छन् ।
महिला ६१ केजीमुनि मनीषाकुमारी बोहरा, ५० केजीमुनि अन्जली मगर र ५३ केजीमुनि सोनाम शेर्पाले खेल्ने छन् । अफिसियलमा राजेन्द्र बराल र प्रशिक्षकमा कुशल श्रेष्ठ छन् । कुशल भने चीन पुगिसकेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबिच बिदाइ गरे ।

























