
विराटनगर । जेनजी आन्दोलनका नाममा तोडफोड र आगजनी गरेर क्षतिग्रस्त बनाइएको विराटनगरस्थित कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा सरसफाइ गर्न थालिएको छ ।
सरसफाइपछि कार्यालय सुचारु गर्ने तयारी छ । भदौ २४ गते भएको आन्दोलनमा अराजक समूहले कार्यालयमा तोडफोड गर्दै भुइँतलामा आगजनी गरेका थिए ।
आगलागीका कारण तल्लो भाग पूरै नष्ट भएको छ भने माथिल्लो तलामा आंशिक क्षति पुगेको छ । कार्यालयमा रहेका कम्प्युटर, पानी तान्ने मोटर, चापाकललगायतका उपकरण जलेर नष्ट भएका छन् । केही सामानहरु चोरी र लुटपाट भएको छ ।
केही सामान तोडफोड गरेर छाडिएको छ । कार्यालय प्रमुख काजीदास भट्टराईका अनुसार कार्यालयभित्रका जलेर प्रयोग अयोग्य भएका सामान हटाउने काम भइरहेको छ । काम लाग्ने र नलाग्ने सामान छुट्याउँदै सरसफाइ थालिएको उनले बताए ।
क्षतिको मूल्यांकन यकिन भइनसकेको उल्लेख गर्दै भट्टराईले मुचुल्का उठाएर क्षतिको विस्तृत विवरण संकलन भइरहेको जानकारी दिए । कार्यालय सञ्चालनयोग्य बनाउन सरसफाइ सुरु गरिएको र आवश्यक विवरण संकलनपछि क्षतिको औपचारिक तथ्यांक सार्वजनिक गरिने उनले बताए ।

























