
काठमाडौं । नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) को ट्रायल सम्पन्न भएको छ । डीजीआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले नेपालमै पहिलो पटक आयोजना गर्न लगेको सबैभन्दा ठुलो टेनिस बल टी–१० क्रिकेट प्रतियोगिता एनएसपिएलको ट्रायल सम्पन्न भएको हो ।
देशका विभिन्न स्थानमा सम्पन्न भएको ट्रायलमार्फत खेलाडी छनोट गर्ने प्रक्रिया सकिएको छ । काठमाडौंको महालक्ष्मी स्पोर्ट्स हबमा अन्तिम ट्रायल सम्पन्न भएको हो । ट्रायलमा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
ट्रायलमा करिब १ हजार ५ सयभन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए भने तीमध्ये २ सय ५० जना खेलाडीहरूलाई अक्सनका लागि छनोट गरिने छ ।
यो प्रतियोगिता टेनिस बल क्रिकेट खेलाडीहरूलाई आफ्नो क्षमता देखाउने महत्त्वपूर्ण प्लेटफर्म हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ७ वटा टोलीको सहभागिता हुनेछ ।
प्रतियोगितामा कुल २५ खेल खेलाइने छ । लिग चरण सिंगल राउन्ड रोबिन प्रणालीमा सम्पन्न हुनेछ र शीर्ष ४ टिमले सेमिफाइनलमा स्थान बनाउने छन् । विजेता टिमले २१ लाख र उपविजेताले ११ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिता आयोजकका अध्यक्ष ज्ञानु सिंहले यो लिगले उदीयमान प्रतिभाका लागि बलियो र समावेशी प्लेटफर्म निर्माण गरेर ग्रासरुट क्रिकेटलाई विकास गर्ने बताए ।
उनले यो प्रतियोगिताले स्थानीय खेलाडीलाई अवसर र प्रेरणा दिनुका साथै नेपाली क्रिकेटलाई ग्रासरुट स्तरबाट विकास गर्ने उद्देश्य राखिएको बताए ।
हाल प्रतियोगिता केही समयका लागि स्थगित भएको छ । सुरुवाती योजना अनुसार प्रतियोगिता असोज २१ देखि असोज ३१ गतेसम्म हुने तय गरिएको थियो ।
तर, भदौ २३ र २४ गतेका जेनजी आन्दोलन तथा हाल देश शोकमा डुबेको परिस्थितिलाई मध्यनजर गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी आयोजकले दिएको छ । प्रतियोगिताको नयाँ मिति छिट्टै नै सार्वजनिक गरिने बताइएको छ ।

























