
काठमाडौं । नेपालमा महिला क्लब फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले महिला क्लब फुटबल च्याम्पियनसिप पहिलो पटक आयोजना गर्न लागको हो ।
साफले काठमाडौंमा डिसेम्बर ५ देखि २० तारिखसम्म दक्षिण एसियाका ५ देशका शीर्ष महिला क्लबहरूबीच प्रतिस्पर्धा गर्न लागेको जनाएको छ ।
आयोजक राष्ट्र नेपालबाट एपीएफ फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ । त्यसैगरी, बंगलादेशको नसरिन स्पोट्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतको इष्ट बेंगाल एफसी लगायतका क्लबहरूले पनि सहभागिता जनाउने भएका छन् ।
यसअघि साफले राष्ट्रिय स्तरमा महिला साफ च्याम्पियनसिप आयोजना गर्दै आएको भए पनि क्लब स्तरीय च्याम्पियनसिप गर्न लागेको यो पहिलो पटक हो । प्रतियोगिता राउन्ड रोबिनका आधारबाट हुनेछ । जसमा शीर्ष २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
१५ दिनसम्म चल्ने प्रतियोगिताका सबै खेल काठमाडौंको दशरथ रंगशालामा हुनेछ । विजेता टोलीलाई नगद पुरस्कार पनि प्रदान गरिने साफले जनाएको छ । तर, पुरस्कारको राशि भने अझै निर्धारण गरिएको छैन ।

























