
विराटनगर । विराटनगरको बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८१ / ०८२ मा ५९ लाख ३१ हजार ६१५ रुपैयाँ खुद नाफा आर्जन गरेको साधारण सभामा जानकारी गराइएको हो । संस्थाका लेखा समिति संयोजक अविनाशकुमार निधिले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वित्तीय अवस्थाबारे विस्तृत जानकारी गराए ।

उनले प्रस्तुत गरेको प्रतिवेदनमा सहकारीले आर्थिक वर्ष २०८१ / ०८२ को अन्त्यमा १२ करोड ४ लाख ८१ हजार ७ सय २५ रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ ।
यसैगरी, आफ्ना सेयर सदस्यहरूलाई उद्यमी बनाउन तथा आर्थिक आवश्यकता परिपूर्ति गर्न १२ करोड ५५ लाख ५४ हजार ५७ रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाले राज्यप्रतिको दायित्व पूरा गर्दै वर्षभरिको आम्दानीबाट १४ लाख ७५ हजार रुपैयाँ आयकर समेत बुझाएको बताइएको छ ।

सहकारीले आर्जन गरेको नाफाबाट सेयर सदस्यलाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । हाल सहकारीमा ५ सय ३९ महिला र ४ सय २५ पुरुष गरी ९ सय ६४ जना सेयर सदस्य आबद्ध रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक कोशी प्रदेशका प्रबन्धक चिरञ्जीवी तिम्सिनाले छरिएर रहेको पुँजीलाई एकीकृत गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सहकारीले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले सहकारी संस्थाहरू सदस्य केन्द्रित भई वित्तीय अनुशासन पालना गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद खनालले संस्थाको समग्र प्रगति र भावी योजनाबारे प्रकाश पारे । अध्यक्ष खनालले बुद्धोदय सहकारी एक सुदृढ रणनीतिक योजनाका साथ अगाडि बढिरहेको र सदस्यहरूको आर्थिक तथा सामाजिक उत्थानका लागि सदैव प्रतिबद्ध रहेको बताए ।
उनले भने, ‘हामी हाम्रा सदस्यहरूको विश्वासलाई सर्वोपरि राख्दै, पारदर्शिता र सुशासनलाई आत्मसाथ गरी संस्थालाई थप उचाइमा पुर्याउन कटिबद्ध छौँ ।’

सो अवसरमा संस्थाले विभिन्न क्षेत्रमा योगदान पुर्याएका सदस्यहरूलाई सम्मान गर्यो । यस क्रममा १५ जना ज्येष्ठ सेयर सदस्यहरूलाई उनीहरूको निरन्तर सहभागिता र योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
सम्मानित हुने ज्येष्ठ सदस्यहरूमा संविधान सदस्य सयन्द्र बान्तवा, कृष्णप्रसाद नेपाल, केदारनाथ अधिकारी, सरस्वती ढुंगेल, विमला नेपाल, नरदेवी श्रेष्ठ खड्का, विष्णुकुमारी सुवेदी, तुलसीराम काफ्ले, केदारप्रसाद रिजाल, सीतादेवी पौडेल, शिवराज सिवाकोटी, हजारीप्रसाद चौधरी, गीताकुमारी चौलागाईं र रामकुमार भण्डारी छन् ।

त्यसैगरी, सहकारीबाट ऋण लिई उत्कृष्ट उद्यम सञ्चालन गरेका तीर्थ दर्जी र सीता केसीलाई ‘सर्वोत्कृष्ट उद्यमी’ बाट सम्मान गरियो । संस्थाले अमित रेग्मीलाई ‘उत्कृष्ट कर्मचारी’ बाट सम्मान गरेको छ भने सेयर सदस्यका छोराछोरीमध्ये एसइई र कक्षा १२ को परीक्षामा उत्कृष्ट अंकलाई ४ जनालाई सम्मान गरिएको थियो ।
सो अवसरमा विराटनगर वडा नम्बर ३ का वडाध्यक्ष बासु बस्नेत, नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकलगायतले शुभकामना व्यक्त गरेका थिए ।

























