
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली मलेसिया भ्रमणमा जाने भएको छ । आगामी असोज १६ देखि २२ गते (अक्टोबर २ देखि ८) सम्म नेपाल र मलेसियाबीच ५ खेलको टी २० अन्तर्राष्ट्रिय सिरिज तय भएको छ ।
त्यसअघि असोज ८ देखि १४ गते (सेप्टेम्बर २४ देखि ३०) सम्म हुने मलेसियन सुपर उमन्स सिरिजमा पनि नेपाली खेलाडीहरू सहभागी हुनेछन् । सो प्रतियोगितामा नेपाली खेलाडीले विभिन्न ५ टिमबाट प्रतिनिधित्व गर्नेछन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले यी २ प्रतियोगिताका लागि शनिबार १४ सदस्यीय टोली सार्वजनिक गरेको छ । टोलीमा नियमित खेलाडीहरूसँगै केही नयाँ अनुहारले पनि स्थान पाएका छन् ।
क्यानको भनाइमा, सुपर सिरिजले खेलाडीलाई थप अनुभव दिलाउने र त्यसपछि हुने मलेसियाविरुद्धको टी २० सिरिजमा उपयोगी हुने विश्वास गरिएको छ ।

























