
काठमाडौं । नेपालका ४ खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने भएका छन् ।
विश्व एथलेटिक्सले आयोजना गर्न लागेको प्रतियोगितामा नेपालबाट सुमन कुलुङ, सांगे शेर्पा, मनकुमार रोका र सुनमाया बुढाले चुनौती पेश गर्ने भएका हुन् ।
स्पेनको क्यान फ्रान्कमा हुने प्रतियोगिता सेप्टेम्बर २४ देखि २९ तारिखसम्म सञ्चालन हुँदैछ । भिसाका कारण पूरा टिम सहभागी हुन नपाए पनि नेपालबाट सबैभन्दा माथिल्लो वरियताका ट्रेल रनरले विश्व स्तरीय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न लागेका हुन् ।
नेपाल नम्बर वान सुमन कुलुङ एसिया वरियताका समेत एक नम्बरका खेलाडी हुन् भने महिलातर्फ नेपाल नम्बर एक खेलाडी सुनमाया बुढा एसिया वरियताकी तेस्रो नम्बरकी खेलाडी हुन् । ४ जना खेलाडीले सिंगल लामो दुरीको ट्रेल रनको इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।
टिम म्यानेजर प्रीति खत्रीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार खेलाडी छनोट गरिएको बताइन् । मुख्य मापदण्डको रूपमा आईटीआरए र्याङकिङलाई प्राथमिकता दिइएको छ ।
छनोट प्रक्रिया जर्मनीसहित अन्य सहभागी देशहरूसँग मेल खान्छ । जहाँ पुरुष खेलाडीका लागि योग्यता हासिल गर्न ८६० भन्दा बढी आईटीआरए स्कोर आवश्यक थियो । जसमा शीर्ष ३ पुरुष र महिला खेलाडी छनोट भएका हुन् ।
उनले नेपाली खेलाडीले असाधारण प्रदर्शन र विश्वस्तरीय र्याङकिङका आधारमा आफ्नो स्थान सुरक्षित गरेको बताइन् ।
महासंघका अध्यक्ष एकेन्द्र कुँवरले नेपाली खेलाडीले विश्व स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नु सबै नेपालीका लागि गर्वको विषय रहेको बताए । उनका अनुसार फरक खेल विधाको रूपमा एडभेन्चर रनिङबाट नेपाली खेलाडीहरूले पुन : विश्व मञ्चमा देशको प्रतिनिधित्व गर्दै आफ्नो चुनौती पेश गर्दै छन् ।
नेपाल एडभेन्चर रनिङ फेडेरेसनले नेपाली खेलाडीको विश्वस्तरीय प्रदर्शनलाई सहयोग गर्न आवश्यक पूर्वाधार निर्माण गर्दै अन्तर्राष्ट्रिय पहुँच सुधार गर्न निरन्तर काम गरिरहेको, अध्यक्ष कुँवरले बताए ।

























