
विराटनगर । मोरङको बेलबारीमा असोज अन्तिम सातादेखि ‘८ औं बेलबारी आरजु राईस, मेजर एनबी रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप फुटबल’ प्रतियोगिता हुने भएको छ ।
बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित प्रस्तावित रंगशालामा एलएक्स सिटी फुटबल क्लबले प्रतियोगिताको आयोजना गर्न लागेको हो । मंगलबार क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको छ ।
क्लबका महासचिव शम्भु बस्नेतले प्रतियोगिता असोज २६ देखि कात्तिक १ गतेसम्म हुने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा नेपाल र भारतका चर्चित क्लब ८ वटा टोलीले सहभागिता जनाउने छन् ।
महासचिव बस्नेतले भने, ‘डेढ तोला सुन र ३ केजी चाँदी जडित आकर्षक रनिङ ट्रफी विजेतालाई प्रदान गरिने छ । रनिङ ट्रफी पूर्ण रूपमा आफ्नो स्वामित्वमा प्राप्त गर्नका लागि कुनै पनि टिमले लगातार ३ पटक प्रतियोगिता जित्नुपर्ने व्यवस्था रहेको छ ।’
प्रतियोगितामा आयोजक एलएक्स सिटी फुटबल क्लबसहित साबिक विजेता झापा–११ फुटबल क्लब, उपविजेता सलहेश युवा क्लब सिराहा, चर्च ब्वाइज युनाइटेड ललितपुर, ‘बी’ डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाइज युनाइटेड, रारा फुटबल क्लब राजारानी धनकुटा, भोजपुर जिल्ला फुटबल संघ भोजपुर र भारतको लिजेन्ड फुटबल एकेडेमीको सहभागिता रहेको छ ।
प्रतियोगिताको अनुमानित आम्दानी ७२ लाख रुपैयाँभन्दा बढी हुने र खर्च करिब ६३ लाख रुपैयाँ हुने जनाइएको छ । विजेता टोलीले नगद ८ लाख रुपैयाँ र उपविजेता टोलीले नगद ४ लाख रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र प्लेयर अफ द म्याचले नगद पुरस्कार प्राप्त गर्ने छन् ।
क्लबका अध्यक्ष विक्रम राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य दीपेन्द्र धिमाल, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जीव बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।

























