जेनजी आन्दोलनले कोशीमा थला परेको प्रहरी, ५७ वटा कार्यालयमा आगजनी र तोडफोड

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ आश्विन ८, बुधबार १३:५९

विराटनगर । जेनजी आन्दोलनका नाममा कोशी प्रदेशमा गरिएको आगजनी, तोडफोड र आक्रमणको चपेटामा परेको प्रहरीलाई सामान्य अवस्थामा फर्किन समस्या भइरहेको छ ।

आन्दोलनको आगोमा परेर आफैं थला परेको प्रहरी नियमित कामकारबाहीमा फर्किन नसकिरहेको हो । भदौ २३ र २४ गतेको आन्दोलनमा प्रहरीमाथि आक्रमण गर्नुका साथै प्रहरीका संरचनामा आगजनी र तोडफोड गरिएको थियो । कतिपय प्रहरी कार्यालयमा लुटपाटसमेत मच्चाइयो । आन्दोलनको आवरणमा अराजक समूहले कोशीका ५७ वटा प्रहरी कार्यालयमा आक्रमण गरेको थियो ।

Advertisement

आगजनी र तोडफोडबाट प्रहरीका २४ वटा कार्यालय पूर्णरूपमा जलेर ध्वस्त भएका छन् भने ३३ वटामा आंशिक क्षति पुगेको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलले बताए । उनका अनुसार आगजनी र तोडफोड गरेर प्रहरीका ८४ वटा सवारीसाधन ध्वस्त पारिएको छ । जसमा ८ वटा हेभी सवारीसमेत छन् ।

प्रदेशकै व्यस्त स्थानमध्येमा पर्ने इटहरी चोक अहिले प्रहरीविहीन बनेको छ । इटहरी मात्रै नभएर प्रदेशको राजधानी विराटनगर, मुख्य बजारहरु काँकडभिट्टा, भद्रपुर, बिर्तामोड, दमक, इनरुवा, धरान तथा मुख्य राजमार्गमा नेपाल तथा ट्राफिक प्रहरीको उपस्थिति मजबुत हुन सकेको छैन ।

चाडबाड नजिकिँदै गर्दा सवारीसाधनको चाप बढ्दो छ । तर, ट्राफिक प्रहरी सडकमा देखिँदैनन् । सामान्य अवस्थामा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले ठाउँ–ठाउँमा नियमित चेकिङ राख्ने गरेको थियो ।

भदौ २४ मा अराजक समूहले इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा तोडफोड र आगजनी गर्दा कार्यालय भवन, त्यहाँभित्रका सबै सामान र सवारीसाधन जलेर नष्ट भए । भवनसँगै ब्यारेकमा रहेका सामग्री, पोसाक र बन्दोबस्तीका सामान जलेपछि ट्राफिक प्रहरी अझै सडकमा आउन नसकेको कार्यालयका प्रवक्ता एवं डीएसपी सन्तोष श्रेष्ठले बताए ।

‘अहिले जलेर धुवाँले कालो भएको जीर्ण भवन मात्रै छ । सबै सामान खरानी भएका छन् । सवारीसाधन छैनन् । हामी संरचनाविहीन अवस्थामा छौं । काम गर्न निक्कै समस्या भइरहेको छ । त्यही भएकाले ट्राफिक व्यवस्थापनको काम प्रभावकारी हुन सकिरहेको छैन । त्यही पनि सकेसम्म प्रयास गरिरहेका छौं,’ डीएसपी श्रेष्ठले भने । उक्त कार्यालयले कोशी प्रदेशका १४ वटा जिल्लाको ट्राफिक प्रहरीका कामकारबाहीको अनुगमन, निरीक्षण र सहजीकरणसहित ट्राफिक व्यवस्थापनको काम गर्दै आएको थियो ।

अराजक समूहको निशानामा परेसँगै प्रहरीको मनोबल खस्किएको छ । आन्दोलनका बेला आक्रमण हुन थालेपछि प्रहरीले हतियार र बर्दी छाडेर भाग्नु परेको थियो । इटहरी चोकनजिक रहेको इलाका प्रहरी कार्यालयमा आगजनी गरियो ।

डीएसपीको नेतृत्वमा प्रहरी रहने उक्त कार्यालय आगजनी र तोडफोडपछि पूर्णरूपमा ध्वस्त भएको छ । घटनापछि त्यहाँका प्रहरी विस्थापित भए । अहिले तरहराको चौकीमा अस्थायी रूपमा बसिरहेका छन् । भवन ध्वस्त भएकाले कहाँ कार्यालय राख्ने भन्ने अन्योल छ । इटहरीस्थित कार्यालयबाट विस्थापित भएको प्रहरी तत्काल फर्किने सम्भावना छैन ।

‘आन्दोलनकारीले लखेटेपछि प्रहरीलाई त्यही कार्यालय फर्काउन कठिन भएको छ । कार्यालय र सवारीसाधन जलाएर खरानी बनाइएको छ । बस्ने ठाउँ छैन । प्रहरीको मनोबल फर्काउन समय लाग्छ,’ प्रहरीका १ अधिकारी भन्छन् । प्रहरीको अनुपस्थितिमा कोशी प्रदेशका विभिन्न चोकहरुमा जुवाजन्य खेल खुलेआम खेल्न र खेलाउन थालिएको छ । जताततै लंगुर बुर्जा (डाइस)लगायका जुवाजन्य खेलहरु भइरहेका छन् ।

आन्दोलनमा क्षतिग्रस्त कार्यालयमध्ये सुनसरीको पकलीस्थित इलाका प्रहरी कार्यालय मात्रै पुनर्स्थापित भएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले जानकारी दिए । उनका अनुसार बाँकी प्रहरी कार्यालयहरुको पुनर्निर्माणका लागि पहल भइरहेको छ । पुनर्निर्माण र मर्मत सम्भार तत्काल सम्भव नहुँदा प्रहरीलाई बस्ने ठाउँको अभाव भएर शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानसमेत नियमित एवं महत्वपूर्ण कामकारबाही प्रभावित बनेका छन् ।

‘प्रहरीले यस्ता आन्दोलनहरू धेरै देखेको छ । हामी सुरक्षा दिन सक्षम छौं । पूर्वाधार नष्ट हुँदा काम प्रभावित भए पनि समुदायसँग मिलेर पुनःस्थापना गर्ने काम भइरहेको छ,’ डीआईजी कार्कीले भने । आन्दोलनका क्रममा खोसिएका हतियारमध्ये धेरैजसो फिर्ता ल्याइएको र केही जलेर नष्ट भएको कार्कीले बताए ।

चाडबाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू भएको र नेपाल–भारत सीमा क्षेत्रबाट हुने चोरी–तस्करी नियन्त्रणमा विशेष ध्यान दिइएको उनले जनाए । साथै, चाडपर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्था मजबुत बनाइएको कार्कीको भनाइ छ ।

तर, आन्दोलनले पारेको प्रभाव सामान्य छैन । प्रहरी कार्यालय ध्वस्त हुनु, सवारी साधन नष्ट हुनु, बर्दी उतारेर प्रहरीलाई भाग्न बाध्य पारिनु तथा प्रहरीमाथि आक्रमण गरिनुजस्ता घटनाले सुरक्षा निकायको मनोबल खस्किएको छ । आन्दोलनले थला परेर प्रहरी आफैं असुरक्षित एवं विस्थापित बनेपछि अपराधिक घटना बढ्न सक्ने भन्दै सर्वसाधारण चिन्तित बनेका छन् ।

तपाइको प्रतिक्रिया
मोरङको बुढीगंगा गाउँपालिकाद्वारा बेरोजगार सूचीमा सूचीकृत हुन आह्वान
झापाबाट चलचित्र ‘पाँच पाण्डव’ को छायांकन सुरु
रवि लामिछाने विरुद्धको अभियोग संशोधन निर्णयमाथि सर्वोच्चमा निरन्तर सुनुवाइ
देशभर हावाहुरीको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
खोटाङको दिखुवा खोला पुल निर्माणमा ढिलासुस्ती, ठेकेदारलाई चेतावनी
सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि
संसदीय यात्राको तयारीमा रास्वपा : १८२ सांसदलाई आजदेखि विशेष प्रशिक्षण
जर्मनीमा सुजनलाई दोहोरो स्वर्ण
जर्मनीमा सुजनलाई दोहोरो स्वर्ण
‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ शनिबार हुँदै 
‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ शनिबार हुँदै 
पाकिस्तानद्वारा काबुलको अस्पतालमा हवाई आक्रमण, ४०० को मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.