
काठमाडौं । दक्षिण कोरियामा हुने वाइटीटीएफ युथ टेबल टेनिस प्रशिक्षण शिविरका लागि विभिन्न ३ उमेर समूहका ६ जना खेलाडी छनोट भएका छन् ।
नेपाल एपीएम क्लबको आयोजनामा भएको ५ औं एपीएम जुनियर टेबल टेनिस च्याम्पियनसिपको आआफ्नो उमेर समूहमा पहिलो हुने खेलाडी मे १६ देखि २६ तारिखसम्म हुने शिविरका लागि छनोट भएका हुन् ।
यू–१३ सिंगल्सको ब्याइजमा यल टेबल टेनिस क्लबका रिभान बज्राचार्य र गल्समा स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीकी प्राज्ना महर्जन तथा यू–१६ सिंगल्सको ब्याइजमा यलका रिजा शाक्य र गल्समा स्ट्यागकी सुरम्या शाक्य पहिलो भएका थिए ।
यू–१९ सिंगल्सको ब्याइजमा होप्स एकेडेमीका हिमाल विष्ट र गल्समा होप्सकै योङगी पौडेलले पहिलो भए ।
प्रतियोगितामा विभिन्न क्लबका १५० जना खेलाडी सहभागी थिए ।
शिविरमा सन् १९८८ सिओल ओलम्पिककी स्वर्ण पदक विजेता याङ योङ याले प्रशिक्षण दिने छिन् ।

























