
विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको स्थापना दिवसको अवसरमा बोर्डका पदाधिकारी तथा सदस्यहरूलाई सम्मानपूर्वक बिदाइ गरिएको छ ।
बोर्डका सदस्यसचिवसहित सबै पदाधिकारी सदस्यहरूको ३ वर्षे कार्यकाल पूरा भएको हुँदा उनीहरूलाई विशेष समारोहबीच बिदाइ गरिएको हो ।
बिदाइ कार्यक्रमका प्रमुख अतिथि बोर्डका अध्यक्ष तथा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले पदाधिकारीहरूलाई सम्मानपत्र र खादा लगाएर बिदाइ गरे ।
सो अवसरमा बोल्दै मन्त्री राईले खेलकुद क्षेत्रको विकासका लागि उनीहरूको योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि खेल क्षेत्रमा निरन्तर सक्रिय रहन शुभकामना दिए ।
कार्यक्रममा बोल्दै कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले आफ्नो कार्यकालमा प्रदेशभरि रहेका खेल संरचनाको निर्माण, अभिलेखीकरण, मर्मत सम्भार तथा खेलकुद गतिविधिलाई तीव्र गतिमा अघि बढाइएको बताए ।
उनले आगामी दिनहरूमा पनि खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै, बोर्डकी उपाध्यक्ष बिन्दिया कार्कीले खेलको विकास, बिस्तार र उन्नतिका लागि निरन्तर योगदान दिने बताइन् ।

























