पर्यटकको रोजाइमा कोशी प्रदेश    

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ७, शुक्रबार ०८:१३

विराटनगर । ‘कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने मूल नाराको साथ कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्षका रूपमा मनाइरहेको छ ।

आर्थिक अवस्थालाई सुदृढ पार्दै प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष मनाइरहेको छ । प्रदेश सरकारले छिमेकी देश भारत र तेस्रो मुलुकबाट १५ लाखभन्दा बढी पर्यटक यस वर्ष भित्र्याउने लक्ष्यसहित पर्यटन वर्षको सुरुवात गरेको हो ।

०८२ साललाई पर्यटन वर्षका रूपमा मनाउन सुरु गरेको पहिलो ३ महिना प्रदेश सरकारले कोशी प्रदेशका पर्यटकीय स्थलहरूको व्यापक प्रचारप्रसार गरे पनि पछिल्लो ३ महिना भने खासै प्रचारप्रसार गरेको पाइँदैन ।

पर्यटन वर्ष मनाइएको ६ महिना पुग्दा प्रदेश सरकारले लिएको लक्ष्यअनुसार प्रगति हुन नसकेको पर्यटन व्यवसायीहरू बताउँछन् । उनीहरूका अनुसार सरकारले जुन लक्ष्यका साथ पर्यटन वर्ष मनाउने योजनाका साथ अघि सर्‍यो, त्यसो अनुसारको काम हुन सकेन र पर्यटकहरू पनि आउन सकेनन् ।

पर्यटकहरू आउने सिजन सुरु हुने समयमा आन्दोलन भएकाले पर्यटकहरू नआएको हुनसक्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।

एक व्यवसायीले भने, ‘पर्यटकहरू घुम्न आउने हुन् ।उनीहरू आनन्द लिन आउने भएकाले यहाँको राजनैतिक अस्थिरताले गर्दा बन्द हडताल र आन्दोलनको तनाव लिन चाहँदैनन् । त्यही भएर पनि होला घुम्न आउने भनिएका पर्यटकले पनि आफ्नो पूर्व निर्धारित कार्यक्रम फिर्ता गर्न थालेका छन् । घुम्न आउँदा हुनसक्ने बन्द, हडतालको जोखिम लिन उनीहरू चाहँदैनन् ।’

प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षको सुरुवाती तीन महिना पर्यटन सम्बन्धी प्रचारप्रसार भएपछि पछिल्लो ३ महिना खासै प्रचारप्रसार सम्बन्धी कार्यक्रम देखिएको छैन ।

कोभिडले थलिएको पर्यटन व्यवसाय र यस क्षेत्रलाई पुनः कोभिडभन्दा अघिकै अवस्था पुर्‍याउन सरकारले ल्याएको पर्यटनसम्बन्धी योजनामा निजी क्षेत्रमा सँगसँगै रहेको कोशी पर्यटन वर्ष २०८२ का सहसंयोजक भविश श्रेष्ठले बताए । उनका अनुसार सरकार मात्रै लागेर हुँदैन, यसमा निजी क्षेत्र, राजनैतिक दलहरूमा उत्तिकै जिम्मेवारी हुनुपर्छ र यस्ता कार्यक्रमले गति लिन सक्छ ।

धार्मिक, प्राकृतिक, सांस्कृतिकसँगै शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रका पर्यटक आउने गरेको श्रेष्ठले बताए । यस्तो कार्यक्रमले पर्यटन व्यवसायीलाई मात्रै नभई समग्र देशलाई नै फाइदा पुग्छ ।

जतिको संख्यामा नेपालमा विदेशी पर्यटक आउँछन्, त्यत्ति नै नेपालको वैदेशिक ऋण र व्यापार घाटा कम गर्न सकिने उनले बताए ।
सहसंयोजक श्रेष्ठले भने, ‘प्रदेशमा पर्यटक स्तर होटेल करिब ५ सय होटेल र वान स्टार स्तरदेखि फाइ स्टार स्तरसम्मका डेढ सय होटेल रहेको छ । यी होटेलहरूमा दैनिक ३ हजार पर्यटक बस्न सक्ने क्षमता रहेको छ । गत महिना आएको बाढी पहिरोले पर्यटन क्षेत्रलाई पनि प्रत्यक्ष असर पुगेको छ । सरकारले चाँडोभन्दा चाँडो कोशी प्रदेशको पर्यटकीय स्थलहरू आउजाउ गर्न सक्ने बाटो निर्माण गरे पर्यटक आउने छन् । पर्यटन वर्षको प्रचारप्रसार छठ पर्व पछाडि व्यापक गरिने छ ।’

कोशी प्रदेश भौगोलिक, सांस्कृतिक र धार्मिक पर्यटनका हिसाबले रमणीय मानिन्छ । यहाँ विभिन्न प्रसिद्ध धार्मिक स्थलसहित ८ हजार ८ सय ४८ मिटर अल्गो विश्वको सर्वोच्च शिखर सगरमाथादेखि समुद्री सतहबाट ७० मिटर उचाइमा रहेको नेपालकै होचो भूभाग कचनकवल पनि छ । सूर्योदय हेर्न इलामको श्रीअन्तुडाँडामा दैनिक हजारौँ स्वदेशी तथा बाह्य पर्यटकको भीड नै लाग्ने गर्दछ । कोशी टापु आरक्ष क्षेत्रमा चरा हेर्नेदेखि वेतना सिमसारका कछुवाले पर्यटकलाई लोभ्याउने गरेको छ ।

कोशी प्रदेश सरकारले यो प्रदेशमा पर्यावरणीय गन्तव्यको सूचीमा १३ र ट्रेकिङ ट्रेलका रूपमा १० स्थान समावेश गरेको छ । सगरमाथा अवलोकन गर्न ४३ प्रतिशत बाह्य र ५७ प्रतिशत आन्तरिक पर्यटक हरेक वर्ष यो प्रदेशमा आउने गरेको सरकारी तथ्यांक छ ।

धनकुटाको छिन्ताङ, ताप्लेजुङका पाथीभरा मन्दिर, खोटाङको हलेसी, सुनसरीको बराह क्षेत्र धार्मिक पर्यटनका हिसाबले महत्त्वपूर्ण क्षेत्र हुन् । इलामको चियाबारी, धनकुटाको भेडेटार, भोजपुरको ट्याम्केमयुङडाँडा, पाँचथरको साधुटारलगायत पर्यटकीय आकर्षक गन्तव्य मानिन्छन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.