
काठमाडौं । दर्शकको हिसाबले विश्वकै दोस्रो ठूलो खेल मानिने क्रिकेटको टी-२० विश्वकप नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक खेल्न लागेको छ। आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा आयोजना हुने २०२६ को टी-२० विश्वकपलाई लिएर विश्वभरका समर्थकहरू उत्साहित छन्।
सन् २०२४ को संस्करणकै ढाँचामा २०२६ को विश्वकपमा पनि कुल ५५ वटा खेल हुनेछन्। प्रतियोगितामा सहभागी २० टोलीलाई चार वटा समूहमा विभाजन गरिनेछ, जहाँ प्रत्येक समूहमा पाँच-पाँच टिम रहनेछन्। त्यसपछि उत्कृष्ट आठ टिमबीच ‘सुपर एट’ चरण खेलिनेछ। अन्तिममा सेमिफाइनल र फाइनल खेल हुनेछ। नेपालले पहिलो पटक सन् २०१४ मा १६ टोली सहभागी हुँदा विश्वकप खेलेको थियो भने २०२४ मा २० टोली सहभागी भएपछि दोस्रो पटक छनोट भएको थियो।
विश्वकपमा को-को छनोट भए?
सहभागी २० टोलीमध्ये १२ टोलीले सिधै विश्वकपमा स्थान बनाएका छन्: आयोजक राष्ट्र: भारत र श्रीलंका (२ टोली)
सीधै छनोट (सुपर एट र वरीयता): २०२४ को विश्वकपको सुपर एटमा पुगेका ७ टोली र आईसीसीको टी-२० अन्तर्राष्ट्रिय वरीयताका आधारमा ३ टोली गरी १० टिम। यसरी छनोट हुनेमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज, आयरल्यान्ड, न्यूजिल्यान्ड र पाकिस्तान छन्। अमेरिका यसरी छनोट हुने एक मात्र एसोसिएट राष्ट्र हो।
नेपालसहित बाँकी ८ टोली बाँकी ८ टोली क्षेत्रीय छनोटबाट विश्व मञ्चमा आएका छन्। यस पटक आईसीसीले एसिया र ईस्ट एसिया प्यासिफिक क्षेत्रलाई संयुक्तरूपमा राखी तीन स्थान उपलब्ध गराएको थियो।
अमेरिका: क्यानडा, युरोप: इटाली र नेदरल्यान्ड्स, अफ्रिका: नामिबिया र जिम्बावे
नेपालको सफलता र आगामी लक्ष्य
सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेपछि नेपालले १० वर्षसम्म विश्वकप छनोटमै आफ्नो यात्रा समाप्त गरेको थियो। तर, २०२४ को विश्वकपपछि नेपालले २०२६ को विश्वस्तरीय प्रतियोगितामा पनि स्थान सुरक्षित गरेको छ। नेपालले एसिया तथा ईस्ट एसिया प्यासिफिक क्षेत्रीय छनोटमा अपराजित रहँदै विश्वकपको टिकट हात पारेको हो।
नेपालको यो सफलता नेपाली क्रिकेटको निरन्तर प्रगतिको संकेत हो। अब टिम नेपालको लक्ष्य भारत-श्रीलंकामा आयोजना हुने विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्नु हुनेछ। यदि नेपालको खेल भारतमा भएमा धेरै नेपाली समर्थकले विश्वकप हेर्ने सम्भावना बढेको छ।

























