
काठमाडौं । इरानसँग निराशाजनक हार बेहोरेपछि झट्कामा रहेको नेपाल महिला फुटबल टोली आज (सोमबार) भारतविरुद्धको खेलका लागि अन्तिम तयारीमा जुटेको छ। शिलोङको जवाहरलाल नेहरू रङ्गशालामा हुने यो खेल त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिताको महत्त्वपूर्ण भिडन्त हो, जुन नेपालका लागि जितका साथै दक्षिण एसियाली फुटबलमा आफ्नो दबदबा पुनःस्थापित गर्ने अवसरका रूपमा हेरिएको छ।
इरानसँगको हार र कमजोरीमा सुधार
गत शुक्रबार इरानसँग ३–० को फराकिलो हार बेहोरेको नेपालका लागि यो खेल ‘कमब्याक’ गर्ने मौका हो। सो खेलमा दोस्रो हाफको सुरुवाती १२ मिनेटभित्र तीन गोल खानु नेपालको मुख्य कमजोरी सावित भएको थियो। उक्त हारपछि प्रशिक्षक नवीन न्यौपाने ले टोलीको रक्षात्मक संरचना र फिनिसिङमा सुधारमा विशेष जोड दिएका छन्।
प्रशिक्षणपछि न्यौपानेले भने, “भारतविरुद्धको खेल सधैं चुनौतीपूर्ण हुन्छ। उनीहरू शारीरिक रूपमा बलिया छन् र खेल योजनाबद्ध रूपमा खेल्छन्। तर, हाम्रो टोली तयार छ। हामी ९० मिनेटसम्म आक्रामक र सन्तुलित फुटबल खेल्नेछौं।” उनले छोटो समयमै बल पोजेसन र पासको प्रवाहमा ध्यान दिँदै मिडफिल्डमा तालमेल र तीव्रता बढाइएको बताए।
इतिहास र पछिल्लो वर्चस्व
नेपाल र भारत हालसम्म १८ खेलमा भिडेका छन्, जसमा नेपालले मात्र २ जित दर्ता गर्न सकेको छ। तर, पछिल्लो केही वर्षको प्रदर्शन हेर्ने हो भने नेपालले भारतलाई कडा टक्कर दिँदै आएको छ र सन् २०१९ को साफ च्याम्पियनसिप फाइनलपछि भारतलाई जित्न दिएको छैन।
नेपालले सन् २०२२ को साफ सेमिफाइनलमा रश्मीकुमारी घिसिङ को निर्णायक गोलमार्फत भारतविरुद्ध पहिलो ऐतिहासिक जित निकालेको थियो। त्यसको दुई वर्षपछि घरेलु मैदानमा भएको अर्को प्रतिस्पर्धामा पनि सावित्रा भण्डारी ‘साम्बा’ को गोल र वैकल्पिक गोलरक्षक अञ्जना रानामगर को दुई उत्कृष्ट बचाउको मद्दतले नेपालले टाइब्रेकरमा भारतलाई पुन: निराश पारेको थियो।
सावित्रामाथि विशेष नजर
आजको खेलमा पनि सबैको ध्यान नेपालकी ‘सुपर स्ट्राइकर’ सावित्रा भण्डारी माथि हुनेछ। ६६ अन्तर्राष्ट्रिय गोल गरिसकेकी उनको तीव्र गति र सटिक फिनिसिङ नै नेपालको जितको मुख्य सम्भावना हो। भारतका प्रशिक्षक क्रिस्पिन छेत्रीले पनि सावित्राबाट सजग हुनुपर्ने बताउँदै भारतविरुद्ध भएका १२ मध्ये ८ गोल सावित्रा एक्लैले गरेको स्मरण गराएका छन्।
भारत पनि कमब्याकको खोजीमा
भारतका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्री ले पनि इरानसँग २–० को हारपछि यो खेललाई पुनरागमनको मौका मानेका छन्। उनले केही युवा खेलाडीलाई मौका दिने योजना बनाएका छन्, जसमा मिडफिल्डर जुलन नोंगमैथेम मुख्य हुन्। यद्यपि, स्टार फरवार्ड मनीषा कल्याण विरामीका कारण फेरि बाहिर रहने भएकी छन्।
छेत्रीले भने, “नेपाल फुर्तिलो र आक्रामक टोली हो। त्यसैले हामी बल पोजेसनमा सुधार गर्दै छोटा पास र लयमा ध्यान दिनेछौं। नेपालसँग सावित्राजस्ता खेलाडी छन्, जसले काउन्टर अट्याकमा खेलको दिशै बदल्न सक्छिन्। हामीलाई त्यसमा सावधानी अपनाउनुपर्छ।”
आजको खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ हो। यदि नेपालले जित निकाल्न सक्यो भने त्यो प्रतिष्ठाको महत्त्वपूर्ण जित बन्नेछ, भने भारतले पछिल्ला दुई हारको बदला लिई एएफसी महिला एसियन कप २०२६ अघि आफ्नो मनोबल उकास्ने अवसर हुनेछ।

























