
काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार दुई हजार रुपैयाँ घटेको हो । सोमबार सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ तोकेको छ । आइतबार २ लाख ४१ हजार ९ सय रुपैयाँ थियो ।
आइतबार दिन सुन तोलामा ११ हजार ६ सय घटेको थियो । तिहारपछि सुनको भाउ प्रतितोला १३ हजार ६ सय रुपैयाँ घटेको छ ।
यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति जुटेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको हो । जसको प्रभाव नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ ।

























