
काठमाडौँ । नेपालकी सफल कराते खेलाडी एरिका गुरुङले विश्व कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएकी छिन्। विश्व कराते महासंघले उनलाई युनिभर्सालिटी कोटामार्फत भाग लिन अनुमति दिएको हो । नेपाल कराते महासंघले औपचारिक पत्र पठाएसँगै एरिकाले कायरोमा हुने विश्वकै प्रतिष्ठित प्रतियोगिता खेल्ने पक्का हुनेछ ।
एरिका गत महिना फ्रान्सको पेरिसमा भएको छनोट प्रतियोगितामा समूह चरणका सबै खेल जित्दै क्वार्टरफाइनलसम्म पुगेकी थिइन् । सोही प्रदर्शनका कारण उनले युनिभर्सालिटी कोटामार्फत विश्व च्याम्पियनसिपमा स्थान सुरक्षित गर्न सफल भएकी हुन्।
विश्व च्याम्पियनसिप नोभेम्बर २७ देखि ३० सम्म इजिप्टको कायरोमा हुँदैछ । विधा: एरिकाले महिलाको ६८ केजी तौलसमूहभन्दा माथिको व्यक्तिगत विधामा प्रतिस्पर्धा गर्नेछिन् । विश्व च्याम्पियनसिपलाई हरेक कराते खेलाडीको सपना मानिन्छ, जहाँ प्रत्येक तौल समूहमा ३२ खेलाडी सहभागी हुने गर्छन् । एरिकाले यसै नियमअन्तर्गत युनिभर्सालिटी कोटाबाट विश्व च्याम्पियनसिप खेल्ने मौका पाएकी हुन् ।
यसअघि करातेकी अर्की खेलाडी सानुमाया थिङ पनि विश्व वरीयताको आधारमा च्याम्पियनसिपको एकल काता विधाका लागि छनोट भएकी थिइन् । गत मे महिनामा उज्वेकिस्तानमा भएको एसियन च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा सानुमायाले यो सफलता पाएकी हुन् । छनोट भएर नेपाली खेलाडीले विश्व च्याम्पियनसिप खेल्न पाउन लागेको यो पहिलो अवसर हो ।

























