
काठमाडौं । दोस्रो संस्करणको नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
नेपालगन्ज स्विमिङ क्लबले नेपालगन्ज रंगशालामा कात्तिक १४ र १५ गते दोस्रो संस्करणको नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा ७ प्रदेशका करिब २ सय खेलाडीले ५६ वटा विधामा प्रतिस्पर्धा गर्ने आयोजक नेपालगन्ज स्विमिङ क्लबले जनाएको छ ।
प्रतियोगितामा देशभरका अन्डर ८, १०, १२, १४ र १७ वर्ष उमेर समूहका अतिरिक्त खुला उमेर समूहका खेलाडीबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष केशवराज न्यौपानेले जानकारी दिए ।
उनका अनुसार ८ वर्ष मुनिको उमेर समूहका खेलाडीले २५ मिटर दूरीमा, १० वर्ष मुनिको उमेर समूहका खेलाडीले ५० मिटर दूरीमा प्रतिस्पर्धा गर्ने भएका छन् । यस्तै, १२ र १४ वर्ष मुनिको उमेर समूहका खेलाडीले ५० र १ सय मिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन् ।
खुला उमेर समूहका खेलाडीले २ सय र ४ सय मिटर दूरीमा विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्ने छन् ।
आयोजक क्लबले प्रतियोगितामा सहभागिताका लागि आवेदन खुला गरेको छ । इच्छुक खेलाडीले क्लबले उपलब्ध गराउने गुगल फर्म भरेर आवेदन दिन सक्ने छन् ।
प्रतियोगितामा सहभागी हुन आवेदन फर्म भर्दा खेलाडीले १ हजार ५ सय शुल्क तिर्नु पर्नेछ । करिब १ सय खेलाडीले अनलाइन फाराम भरी सकेका छन् ।
नेपाल पौडी संघसँग सहकार्य गरेर आयोजक क्लबले नेशनल स्विमिङ टेक्निकल अफिसियल (रेफ्री, जज) क्लिनिक पनि सञ्चालन गर्दै छ । क्लिनिकमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३५ जना रेफ्री, जज सहभागी हुने छन् ।
बाँके जिल्ला बाहेक अन्य जिल्लाबाट सहभागी हुन आउने खेलाडीलाई खेल अवधि भर निःशुल्क खाजा, खाना र बसोबासको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको तयारीका लागि नेपाल पौडी संघका टेक्निकल हेड विष्णु खड्कासहित ३ जना प्राविधिक नेपालगन्ज पुगिसकेका छन् ।
कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकार, नेपालगन्ज उपमहानगरपालिका, प्रदेश खेलकुद परिषद् लुम्बिनीलगायत विभिन्न व्यापारिक प्रतिष्ठानलगायतले सहयोग गरेका छन् । प्रतियोगिता आयोजना गर्न करिब १५ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष न्यौपानेले बताए ।

























