
विराटनगर । मोरङको पथरी शनिश्चरे–१ जाँते मोडमा रहेको प्रस्तावित रंगशालामा कात्तिक १५ गतेदेखि दोस्रो पथरी शनिश्चरे आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।
प्रतियोगिता सम्पन्न गर्न तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको गोल्डकपमा काठमाडौंका तीन ‘ए’ डिभिजन क्लब, एक भारतीय टोली सहित कुल ८ टिम सहभागी हुनेछन्।
प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ। उत्कृष्ट खेलाडी र अन्य विधागत खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको उपाधि विजेताले ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ पाउने छ ।
गत वर्षको पहिलो संस्करणमा ललितपुरको ब्रीगेड ब्वाइज क्लबले संकटा क्लब काठमाडौंलाई पराजित गर्दै उपाधि जितेको थियो ।

























