
संखुवासभा । लगातारको भारी वर्षा र उच्च हिमाली भेगमा भइरहेको हिमपातका कारण जिल्ला प्रशासन कार्यालय संखुवासभाले ४ हजार मिटरभन्दा माथिका क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले सूचना जारी गर्दै मकालु आधार शिविर लगायत उत्तरी हिमाली क्षेत्रतर्फ अत्याधिक हिमपात र चिसो बढेको भन्दै तत्काल पदयात्रा स्थगित गर्न भनेकी छन् । उत्तरी क्षेत्रमा खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको अभाव हुन सक्ने जोखिम पनि बढेको प्रशासनले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी शनिबारसम्म वर्षा र हिमपात जारी रहने सम्भावना रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले नागरिक तथा पर्यटकहरूलाई विशेष सावधानी अपनाउन निर्देशन दिएको हो ।
पर्यटकलाई सचेत गराउँदै प्रहरी
यसैबीच, मकालु प्रहरी चौकी सेदुवाका प्रहरीहरूले सो क्षेत्रमा रहेका विदेशी र स्वदेशी पर्यटकहरूलाई निरन्तर मौसमी जानकारी दिँदै सचेत गराइरहेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी कुमारप्रसाद मैनालीका अनुसार पर्यटकहरूलाई बाटोघाटो, होटल र सुरक्षा व्यवस्थाबारे पनि जानकारी दिइँदै आएको छ ।
डीएसपी मैनालीका अनुसार, हाल मकालु आधार शिविर क्षेत्रमा करिब ७० विदेशी र ६० नेपाली पर्यटक रहेका छन् । प्रहरीले तुम्लिङटार विमानस्थल, नुम र सेदुवामा मौसमी सचेतना अभियान नै सञ्चालन गरिरहेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार लगातारको वर्षाका कारण जिल्लाका विभिन्न भागमा पहिरो जाने, सडक अवरुद्ध हुने तथा जनजीवन प्रभावित हुने खतरा बढेको छ । त्यसैले, अत्यावश्यक कामबाहेक अनावश्यक यात्रा नगर्न सबै नागरिकलाई प्रशासनले आग्रह गरेको छ ।
प्रशासनले पहिरोको उच्च जोखिम देखिएका क्षेत्रका स्थानीय बासिन्दाहरूलाई विशेष सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा सर्नका लागि तयारी अवस्थामा रहन समेत स्थानीय तहलाई आग्रह गरेको छ ।

























