
बिर्तामोड । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले निरन्तर पानी परेपछि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता दुई दिन पछि सरेको छ।
आयोजक झापा महिला गोल्डकपले झापासहित देशका धेरै ठाउँमा हिजोदेखि लगातार वर्षा भइरहेकाले प्रतियोगिताको मिति सार्ने निर्णय गरेको हो। अब प्रतियोगिताको उद्घाटन खेल कात्तिक १७ गते सोमबार हुनेछ। आयोजक समितिका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार, यसअघि सार्वजनिक गरिएको खेल तालिकालाई दुई दिन पछि सारिएको छ।
खेल तालिका:
उद्घाटन खेल : कात्तिक १५ गते कात्तिक १७ गते (सोमबार) नेपाल पुलिस क्लब vs चर्च ब्वाइज युनाइटेड
दोस्रो खेल कात्तिक १६ गते कात्तिक १८ गते नेपाल एपिएफ क्लब vs सिंग्लिङ स्पोर्टिङ क्लब (भारत)
तेस्रो खेल कात्तिक १७ गते कात्तिक १९ गते संकटा फुटबल क्लब vs झापा फुटबल क्लब
चौथो खेल कात्तिक १८ गते कात्तिक २० गते त्रिभुवन आर्मी क्लब vs आरएस पोखरा फुटबल क्लब
फाइनल खेल कात्तिक २२ गते कात्तिक २४ गते (सेमिफाइनल विजेता)
पुरस्कार राशी:
विजेता टिम: नगद १० लाख १० हजार रुपैयाँ
उपविजेता टिम: नगद पाँच लाख रुपैयाँ
सर्वोत्कृष्ट खेलाडी: नगद १ लाख ५० हजार रुपैयाँ
प्रतियोगिता शिवसताक्षीस्थित दुधे रंगशालामा हुनेछ। गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले प्रतियोगितालाई भव्य र परिष्कृत बनाउन सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्। रंगशालामा तीन हजार दर्शक क्षमताको पक्की स्थायी प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ भने १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट पनि निर्माण गरिएको छ।

























