
बिर्तामोड । एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
झापाको शिवसताक्षीमा पहिलो पटक हुन लागेको झापा महिला गोल्डकप आयोजनाका लागि तयारी पूरा भएको हो ।
प्रतियोगिता यही कात्तिक १७ गतेदेखि २४ गतेसम्म शिवसताक्षीस्थित दुधे रंगशालामा हुनेछ । यसअघि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको प्रतियोगिता वर्षाका कारण २ दिनपछि सरेको हो ।
प्रतियोगिताका लागि ३ हजार दर्शक क्षमताको पक्कीको स्थायी प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ । अतिथि र विशेष दर्शकका लागि ३ सय वटा कुर्सी निर्माण गरिएको छ ।
१० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए । खेलमैदान उत्कृष्ट र शानदार बनाइएको छ ।
उद्घाटन खेल विभागीय टोली नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच कात्तिक १७ गते हुनेछ ।
त्यस्तै, दोस्रो खेल कात्तिक १८ गते विभागीय टोली नेपाल एपीएफ फुटबल क्लबविरुद्ध भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले खेल्ने छ ।
झापा महिला गोल्डकपको तेस्रो खेल कात्तिक १९ गते संकटा फुटबल क्लबसँग झापा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ । चौथो खेल कात्तिक २० गते विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्ने छ ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल कात्तिक २१ गते हुनेछ भने अन्तिम सेमिफाइनल खेल कात्तिक २२ गते हुनेछ । झापा महिला गोल्डकपको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

























