बढ्दैछ डेंगु संक्रमण,  कोशीमा ९९३ संक्रमित

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक १७, सोमबार १९:५१

काठमाडौं । देशभर डेङ्गु संक्रमित बढ्दै गएको छ ।  देशका सबै जिल्लामा ७ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले जनाएको छ ।

इडिसिडीको तथ्याक अनुसार ७ हजार ७५ जनामा डेङ्गु पुष्टि भएको छ । यस समयमा ६ जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको इडिसिडीका कीटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए ।

Advertisement

बागमती प्रदेशमा १ हजार ७६३ जनामा डेङ्गु पुष्टि भएको छ । गण्डकी प्रदेशमा १ हजार ७७५, लुम्बिनीमा १ हजार १६९, कोशीमा ९९३, सुदूरपश्चिममा ७८८, कर्णालीमा ५ सय र मधेसमा १४७ जनामा डेङ्गु पुष्टि भएको इडिसिडी जनाएको छ ।
डोल्पा र मनाङमा हालसम्म डेङ्गु सङ्क्रमण पुष्टि भएको छैन ।

चिकित्सकका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार असाध्य शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेङ्गुका प्रमुख लक्षण हुन् ।

त्योबाहेक, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने जस्ता लक्षण देखिन्छ । डेङ्गु भएको बेलामा चिकित्सकको सुझावमा मात्र औषधि सेवन गर्न डा. पुनले आग्रह गरेका छन् ।

ज्वरो आएमा, खोकी लागेमा वा श्वास फेर्न गाह्रो भएमा तुरुन्त स्वास्थ्य संस्थामा गएर चिकित्सकसँग परामर्श गर्न उनले अनुरोध गरेका छन् । डेङ्गु सङ्क्रमणको जोखिम कात्तिकसम्म रहने भएकाले थप सचेत रहन चिकित्सकको आग्रह छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×