
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै एकीकृत निर्वाचन सुरक्षा योजना बनाउने काम सुरु भएको छ । निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन ‘एकीकृत निर्वाचन सुरक्षा योजना’ तयार गर्ने प्रक्रिया थालिएको हो ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार, यो काम ‘निर्वाचन सुरक्षा व्यवस्थापन कार्यविधि–२०७८’ अनुसार अगाडि बढेको छ । केन्द्रीय सुरक्षा समितिले योजनाको मस्यौदा तयार गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ ।
समितिको नेतृत्व नेपाली सेनाका सहायक रथीले गरिरहेका छन् । समितिमा नेपाल प्रहरीबाट एसएसपी वसन्त रजौरे, सशस्त्र प्रहरी बलबाट एसएसपी राजेश उप्रेती र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरू पनि सदस्य छन् ।
कार्यक्षेत्र: यो समितिले सुरक्षा योजनाको सम्पूर्ण खाका तयार गर्नेछ । समितिले तयार पारेको खाका केन्द्रीय सुरक्षा समितिले पारित गरेपछि सोहीअनुसार सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्वाचनमा परिचालन गरिनेछ। कुन निकायलाई कुन-कुन तहमा परिचालन गर्ने, कति जनशक्ति आवश्यक हुन्छ र मतदान केन्द्रको संवेदनशीलताको आधारमा सुरक्षाकर्मी कसरी खटाउने भन्नेबारे समितिले खाका तयार पार्नेछ।

























