
विराटनगर । औद्योगिक प्रतिष्ठानहरूमा ऊर्जा दक्षता अभिवृद्धिका लागि आवश्यक पर्ने ठूलो संरचनागत परिवर्तनमा वित्तीय स्रोत कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा विराटनगरमा महत्त्वपूर्ण छलफल भएको छ ।
उद्योग संगठन मोरङको समन्वय तथा नेपाल बैंकरर्स एशोसिएशन र जीआईजेड नेपालको संयुक्त आयोजनामा बिहीबार आयोजित कार्यक्रममा वित्तीय संस्थाहरूले उद्योगहरूलाई कसरी सहयोग गर्न सक्छन् भन्नेमा केन्द्रित रहेर छलफल गरिएको हो ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले ऊर्जा दक्षतालाई केवल ऊर्जा बचत र वातावरणीय दायित्वका रूपमा मात्र नभई उद्योग व्यवसायको दीर्घकालीन स्थायित्वसँग प्रत्यक्ष जोडेर हेर्नुपर्ने बताए ।
कार्यक्रममा वित्तीय विशेषज्ञ अनल भट्टराई ले ऊर्जा दक्षता परियोजनामा लगानी गर्न स्पष्ट नीति, जोखिम मूल्यांकन प्रणाली र प्राविधिक मार्गदर्शन आवश्यक हुने औंल्याए ।
उनले बैंकहरू यस क्षेत्रमा वित्त प्रवाह बढाउन इच्छुक रहेको जानकारी दिँदै ऊर्जा दक्षताका लागि वित्तीय लगानीका लागि उद्योग प्रतिष्ठानहरूले सर्वप्रथम ऊर्जा अडिट गरी आवश्यकता पहिचान गर्नुपर्नेमा जोड दिए ।
जीआईजेड/रिपका प्रोग्राम म्यानेजर डा. सञ्जय गोर्खाली ले नेपालमा ऊर्जा दक्षता सुधारका लागि जीआईजेडले निजी क्षेत्र र बैंकहरूबीचको सहकार्यलाई सुदृढ पार्न नीतिगत र प्राविधिक सहयोग गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा सहभागी संगठनका पदाधिकारीहरूले नीतिगत सुधार र क्षमता विकासका कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उपाध्यक्षहरू सुरेन्द्र गोल्छा, विपिन कावरा र सुवोध कोइराला ले ऊर्जा दक्षता परियोजनामा लगानी प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।
ऊर्जा समितिका संयोजक सन्तोष भगत र कार्यसमिति सदस्य सृजन प्याकुरेल ले आगामी दिनमा थप व्यवहारिक वित्त संयन्त्र तयार गर्नुपर्नेमा जोड दिए । उक्त छलफलमा विभिन्न उद्योग प्रतिष्ठानका सञ्चालकहरू, वित्तीय संस्थाका प्रतिनिधिहरू र चार्टर्ड एकाउन्टेन्टहरूको सक्रिय सहभागिता थियो ।

























