ठगी र आपराधिक विश्वासघातको आरोपमा नेपाल ट्रष्टका पूर्व सहसचिव पक्राउ

Share this
783shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २२, शनिबार १६:३९

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल ट्रष्टको जग्गा लिज सम्झौतामा ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसूरको आरोपमा तत्कालीन एक उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेको छ ।

नेपाल ट्रष्टको कार्यालय, दरबारमार्गमा तत्कालीन समयमा सहसचिव रहेका (हाल अवकाश प्राप्त) लेखबहादुर कार्कीलाई सीआईबीले पक्राउ गरेको हो । चितवन जिल्ला, भरतपुर महानगरपालिका-१५ निवासी ६६ वर्षीय कार्कीलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी वरिष्ठ उपरीक्षक तथा सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

पक्राउ परेका कार्कीमाथि नेपाल ट्रष्टको नाममा काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित रहेको जग्गा लिजमा दिने कार्यमा बदनियत राखेको आरोप छ । नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रा.लि.बीच लिज सम्झौता हुँदा सूचनामा उल्लेख भएको कित्ता नं. ४६०६ को जग्गाभन्दा बढी किट्ता नं. ४६०५ को जग्गा समेत थप गरी लिजमा दिइएको अनुसन्धानबाट खुलेको छ ।

उल्लेखित जग्गा लिजमा दिने/लिने सम्बन्धमा सञ्चालक समितिको निर्णय र आधार विना नै बदनियतपूर्वक ‘बीओटी’ मोडलमा निर्माण अवधि तीन वर्षसहित तीस वर्षको लागि लिजमा दिने/लिने गरी २०७४ साल वैशाख १४ गते करार सम्झौता गरिएको थियो।

प्रहरीका अनुसार यस कार्यबाट नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानी नोक्सानी पुर्‍याइएको छ। लिजमा लिने लाभग्राहीलाई सहयोग गर्ने अधिकारी सम्बद्ध विभिन्न ओहदा र पदमा रहेका व्यक्तिहरूले गैरकानुनी तवरले लाभ लिई ठगी, आपराधिक विश्वासघात गरेको र यसबाट नेपाल ट्रष्ट मार्फत नेपाल राष्ट्रलाई नै ठूलो हानी नोक्सानी पुर्‍याइएको अनुसन्धानमा उल्लेख छ।

सीआईबीले उक्त कसूरमा संलग्न अन्य व्यक्ति, सरकारी कर्मचारी, सहयोगी तथा मतियार समेतको भूमिकाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.