
विराटनगर । बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण नजिकिँदै गर्दा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने टोली विराटनगर किङ्ग्सले आफ्नो तयारीलाई भव्यताका साथ अघि बढाएको छ ।
टिमले विश्व क्रिकेटका महानायक फाफ डुप्लेसीलाई अनुबन्ध गरेको घोषणा गर्नुका साथै लिगका लागि आफ्नो नयाँ र आकर्षक क्राउन जर्सी पनि सार्वजनिक गरेको छ ।
यस पटकको जर्सीको डिजाइनमा कोशी प्रदेशको पहिचान र भावनात्मक सम्बन्धलाई प्राथमिकता दिइएको छ ।
जर्सीमा सप्तकोशी नदीका सातवटा सहायक नदीहरूलाई प्रतीकात्मक रूपमा देखाउने सात रेखाहरू समावेश गरिएको छ । यसले टिममा एकता, शक्ति र निरन्तर गतिशीलताको सन्देश दिएको छ । यस जर्सीलाई क्लबले ‘द जर्सीः द क्राउन वी अर्न’ नाम दिएको छ, जसले जितका लागि गरिने मेहनत र संघर्षलाई दर्शाउँछ ।
विराटनगर किङ्ग्सले दक्षिण अफ्रिकाका पूर्व कप्तान तथा विश्वकै सफल टी–ट्वान्टी खेलाडी फाफ डुप्लेसीलाई अनुबन्ध गरेर एनपीएलको दोस्रो संस्करणमा आकर्षण थपेको छ ।
४१ वर्षीय डुप्लेसी एनपीएल इतिहासमै अनुबन्ध हुने सबैभन्दा ठूला अन्तर्राष्ट्रिय क्रिकेटर हुन् । इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्ग्सलाई दुई पटक उपाधि जिताउँदा महत्वपूर्ण भूमिका खेलेका र रोयल च्यालेन्जर्स बेङ्ग्लोरको कप्तानी गरिसकेका डुप्लेसीको अनुभवले विराटनगर किङ्ग्सको युवा टोलीलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।
टिममा नेपाली क्रिकेटका स्टार स्पिनर सन्दीप लामिछाने मार्की खेलाडीका रूपमा यथावत छन् । एनपीएलको दोस्रो संस्करण मंसिर १ बाट सुरु हुँदैछ। नयाँ जर्सी र फाफ डुप्लेसीको आगमनसँगै विराटनगर किङ्ग्स यस पटक उपाधिको बलियो दावेदार बनेको छ ।

























