
काठमाडौँ । हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि पाकिस्तानले जितेको छ । आइतबार सम्पन्न फाइनलमा पाकिस्तानले कुवेतलाई ४४ रनले पराजित गर्दै छैटौँ पटक यो ट्रफी उचालेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ६ ओभरमा ३ विकेट गुमाएर १३५ रनको विशाल योगफल बनायो । पाकिस्तानका लागि कप्तान अब्बास अफ्रिदीले ११ बलमा ५२ रन बनाएर रिटायर्ड आउट भए ।
अब्दुल समादले १३ बलमा ४२ रनको विस्फोटक पारी खेले । जवाफमा, १३६ रनको लक्ष्य पछ्याएको कुवेत ९२ रनमा अलआउट हुन पुग्यो । कुवेतका लागि मेट भवसारले ३३ र एड्नान इद्रेसले ३० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । बलिङतर्फ पाकिस्तानका मज सदातले ३ विकेट लिए ।
प्रतियोगितामा कुवेत ऐतिहासिक रूपमा फाइनल सम्म पुगेको थियो। सेमिफाइनलमा कुवेतले इंग्ल्यान्डलाई ३७ रनले हराएको थियो भने पाकिस्तानले अस्ट्रेलियालाई रोमाञ्चक रूपमा १ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।
नेपालसहित १२ टोली सहभागी प्रतियोगितामा नेपालले ११ औँ स्थान हासिल गर्यो । नेपालले प्रतियोगितामा आफ्नो एक मात्र जित छिमेकी भारतसँग दर्ता गरेको थियो र अन्य सबै खेलमा पराजित भयो । भारतले पनि वर्षाले प्रभावित समूह चरणको खेलमा पाकिस्तानलाई डिएल मेथडका आधारमा १ रनले हराए पनि अन्य सबै खेलमा पराजित हुन पुग्यो ।

























