
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक तथा प्राध्यापकका संघ संगठनहरूलाई राजनीतिक दलको भ्रातृ संस्थाको रूपमा स्वीकार नगरिने भनी जारी गरिएको सूचनाबारे थप प्रस्ट पारेका छन् । उनले शिक्षक संघ संगठनहरू राजनीतिक गतिविधिमा संलग्न भएमा कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।
मन्त्री पुनले सामाजिक सञ्जालमा लेख्दै आफ्नो अडान स्पष्ट पारेका हुन् । उनले भनेका छन्, “संविधानले दिएको अधिकार कसैले खोस्न सक्दै सक्दैन। तर, राजनैतिक पार्टीहरूको संरक्षणमा विद्यालयहरू र विश्वविद्यालयहरूको सञ्चालनमा बाधा अड्चन पुर्याउन र विद्यार्थीहरूको भविष्यसँग खेलवाड गर्न पाइने छैन भनेर सूचना गरेको हो ।”
सिटिइभिटी, विद्यालयहरू र विश्वविद्यालयहरूमा अनेक किसिमका राजनैतिक हस्तक्षेप र चलखेलले भएको अस्तव्यस्तताका बारेमा विद्यार्थीहरू र अभिभावकहरूको हजारौँ गुनासो र उजुरी सुनेर उक्त सूचना प्रकाशित गरिएको मन्त्री पुनले प्रस्ट पारेका छन्। उनले त्यस्तो अनावश्यक राजनीति गर्ने र चलखेल गर्ने कामलाई भ्रष्टाचारसरह मानेका छन्।
मन्त्री पुनले सर्वोच्च अदालतले जारी गरेको आदेश र ऐन कानुनका धाराहरू समेत हेर्न अनुरोध गर्दै भनेका छन्, “अब फागुन २१ गते आउने चुनावको प्रचार प्रसारमा चौबिसै घण्टा लागेर स्कुलमा पठन पाठन गर्न नछोड्नु होला भन्ने विनम्र अनुरोध छ।”

























