
बिर्तामोड । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा आज (सोमबार) महिला फुटबलको फाइनल खेल हुँदैछ । एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल हुने भएको हो ।
फाइनलमा दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब उपाधिका लागि आमनेसामने हुँदैछन् । आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राका अनुसार आजको फाइनलमा झापाका फुटबलप्रेमीहरूको ठूलो उपस्थिति रहने अपेक्षा गरिएको छ ।
दुधे रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानहरूले आफ्नो टोली उपाधिका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
नेपाल पुलिस क्लबले क्वाटरफाइनलमा चर्च बोइज युनाइटेडलाई ८–० को फराकिलो अन्तरले हराएको थियो । सेमिफाइनलमा संकटा क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
यसैगरी, एपीएफले क्वार्टर फाइनलमा सिक्किम क्लबलाई ७–० को भारी अन्तरले हरायो। सेमिफाइनलमा त्रिभुवन आर्मी एफसीसँगको रोमाञ्चक भिडन्तमा पेनाल्टी सुटआउटमा जित हाँसिल गर्दै फाइनलमा प्रवेश गरेको हो ।
उपाधि विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँमा चित्त बुझाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।
यसैगरी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँका दरले पुरस्कार पाउने छन् ।
हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको थियो । आयोजक समितिका अनुसार दर्शकका लागि टिकट दर सामान्यतर्फ ३ सय र ५ सय रुपैयाँ तथा भिआइपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ ।

























