
विराटनगर । कटहरी गाउँपालिका– १ मा रहेकाे कटहरी फलफूल तथा कृषि थोक बजारमा कोशी प्रदेशसभा र सचिवालय सञ्चालन गर्ने निर्णय भएको छ । सोमबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले कृषि बजारको भवन र संरचनामा अस्थायी रुपमा प्रदेशसभा सञ्चालनका लागि स्विकृति प्रदान गर्ने निर्णय गरेको हो ।
विराटनगरको तरकारी बजार ‘गुद्री’लाई सार्नका लागि निर्माण गरिएको भवन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३ चैत २०७५ मा उद्घाटन गरेका थिए । उद्घाटनपछि तरकारी बजारको संरचना प्रयोग बिहिन थियो ।विराटनगरको गुद्री बजारका व्यापारी जान नमानेपछि प्रयोग बिहीन भएको संरचना बाहिर साप्ताहिक हाटबजार लाग्दै आएको छ ।
जेनजी आन्दोलनका क्रममा गत भदौं २४ गते अराजक समूहले आगजनी गर्दा प्रदेशसभा भवन र सचिवालय ध्वस्त भएको थियो ।
मन्त्रीपरिषद् बैठकले कृषि बजारमा प्रदेशसभा बैठक र सचिवालय सञ्चालनका लागि आवश्यक संरचना तयार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए । उनका अनुसार सचिवालय र प्रदेशसभाका लागि आवश्यक संरचना भौतिक पूर्वाधार विकास मन्त्रालयले तयार गर्नेछ ।
बैठकले संघीय सरकारबाट सरुवा भई आएका तीनजना सहसचिवलाई प्रदेश सचिवको रुपमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।
सहसचिव कोषहरि निरौलालाई आर्थिक मामला तथा योजना मन्त्रालयको सचिव, उद्धव रिजाललाई सामाजिक विकास मन्त्रालयको सचिव र पुष्करप्रसाद पोखरेललाई खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयमा प्रदेश सचिवको रूपमा पदस्थापन गर्ने निर्णय गरेको हो ।

























