
झापा । एलभिडी प्रथम झापा महिला गोल्डकपको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।
प्रतियोगिताअन्तर्गत शिवसताक्षीस्थित दुधे रंगशालामा भएको खेलमा पुलिसले अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ क्लब) लाई १–० गोलले पराजित गर्दै उपाधि उचालेको हो ।
एपीएफ क्लबले आफूलाई महिला फुटबलमा शक्तिशाली रूपमा उभ्याउँदै आएको थियो । दुवै विभागीय टोलीबीच यसअघि भएको अधिकांश खेल एपीएफले जित्दै आएको थियो ।
पुलिसले अन्तिम पटक दसैँअघि भएको सिमरा महिला गोल्डकपमा समेत एपीएफसँग पराजय भोगेको थियो । पुलिस सिमरा गोल्डकपको सेमिफाइनलमा एपीएफसँग ५–२ को फराकिलो गोल अन्तरमा पराजय भोगको बदला झापामा लिँदै उपाधि जित्न सफल भयो ।
खेलको सुरुवातमै दुवै टोली आक्रामक लयमा मैदान उत्रिएका थिए । खेलको तेस्रो मिनेटमा पुलिसकी पूजा रानाले पेनाल्टी बक्स बाहिरबाट दिएको सटीक क्रसमा मिना देउवाले पेनाल्टी एरियाबाट गरेको प्रहार एपीएफकी गोलकिपर अञ्जना राना मगरले बचाइन् ।
५ औँ मिनेटमा एपीएफले पनि गोलको अवसर बनाएको थियो तर कप्तान अनिता बस्नेतको क्रसमा निशा थोकरले गरेको प्रहार पोस्टमाथि जान पुग्यो ।
२० औँ मिनेटमा पुलिसकी रेखा पौडेलले एपीएफका २ डिफेन्डरलाई बिट गर्दै गरेको सट अञ्जनाले बचाइन् ।
तर, २२ औँ मिनेटमा पुलिसले खेलमा अग्रता बनायो । रेखाले पेनाल्टी बक्सभित्र गरेको सट डिफेन्डरमा लाग्दै फर्किएको बल पेनाल्टी एरियामा अनमार्क रहेकी मिना देउवाको सामु पुग्यो ।
मिनाले गोलकिपरलाई कुनै मौका नदिई बल जालीभित्र पठाउँदै पुलिसलाई १–० को अग्रता दिलाइन् । ३३ औँ मिनेटमा एपीएफकी कप्तान अनिताले बराबरीको सुनौलो मौका गुमाइन् ।
अनिता केसीले दिएको भली क्रसमा उनले नजिकैबाट गरेको सट पोस्टको दिशा समात्न सकिनन् । त्यसपछि ३८ औँ मिनेटमा सविता रानालाई लडाइएपछि एपीएफले फ्रिकिक पायो तर कप्तान अनिता बस्नेतको सट पुलिसकी गोलकिपर उषा नाथले बचाइन् ।
पहिलो हाफको अन्तिम मिनेटमा रेखा पौडेलको सट पोस्टको छेउबाट बाहिरियो । मिना देउवाले सेन्टर एरियाबाट ३ खेलाडीलाई बिट गर्दै रेखालाई पास दिएकी थिइन् ।
दोस्रो हाफमा पनि खेल बराबरीको गतिमा अघि बढ्यो । ६२ औँ मिनेटमा रेखा पौडेलको आक्रामक रन रोक्ने क्रममा एपीएफकी डिफेन्डर मनमाया दमाईले फाउल गरेपछि पहेँलो कार्ड पाउँदा पुलिसले फ्रिकिकको अवसर पायो । कप्तान अमृता जैशीले फ्रिकिकबाट गोलको प्रयास गरेकी थिइन् तर बल पोस्टबाट बाहिरियो ।
८४ औँ मिनेटमा एपीएफले बराबरीको अर्को मौका गुमायो । रश्मि घिसिङले पेनाल्टी बक्स बाहिरबाट रेनुका नगरकोटीलाई पास दिएकी थिइन् । तर, रेनुकाको प्रहार गोलपोस्ट नजिकबाट बाहिरियो । ८९ औँ मिनेटमा पनि रश्मिको आक्रामक सटलाई पुलिसकी गोलकिपर उषा नाथले बचाइन् ।
अन्ततः खेलको २२ औँ मिनेटमा मिना देउवाले गरेकी गोल नै पुलिसको जितको आधार बन्यो । नेपाल पुलिस क्लबले १–० को जितसहित उपाधि हात पार्दै ऐतिहासिक सफलता हासिल गर्यो ।
उपाधिसँगै पुलिसले नगद १० लाख १० हजार रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्यो । उपविजेतामा सीमित एपीएफले नगद ५ लाख रुपैयाँ प्राप्त गर्यो ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको दुवै उपाधि पुलिसकी मिना देउवाले हात पारिन् । उनले प्रतियोगिता अवधिभर ७ गोल गर्दै गोल्डकपकी टप स्कोर बनेर २५ हजार र सर्वोत्कृष्ट खेलाडी बन्दै १ लाख ५० हजार रुपैयाँ प्राप्त गरिन् ।
प्लेयर अफ द म्याचको उपाधि पुलिसकी पूजा रानाले जितिन् । अन्य उत्कृष्ट पुरस्कार विजेताहरूमा उत्कृष्ट गोलकिपर उषा नाथ (पुलिस), उत्कृष्ट डिफेन्डर मनमाया दमाई (एपीएफ), उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी (एपीएफ), उत्कृष्ट फरवार्ड अनिता बस्नेत (एपीएफ), उत्कृष्ट प्रशिक्षक भोला सिलवाल (पुलिस) र उदयमान खेलाडी जेनिफर राना मगर (आर्मी) बने । सबै उत्कृष्ट विजेताले समान २५ हजार रुपैयाँ प्राप्त गरे ।
पुलिसकी कप्तान अमृता जैसीको नेतृत्वमा विभागीय टोलीले बलियो रक्षा र तीव्र आक्रमणको प्रदर्शन गर्दै एपीएफलाई दबाबमा राख्यो । खेलभर मिना देउवाको सक्रियता, रेखाको आक्रामक मुड र उषा नाथको बचाउले पुलिसको जित सुनिश्चित गर्यो ।
विजेता तथा उपविजेतालाई गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा, प्रमुख अतिथि शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्रा, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, अन्तर्राष्ट्रिय झापाली समाजकी उपाध्यक्ष सीता पाण्डेलगायतले वितरण गरे ।

























