
विराटनगर । विराटनगरको प्रतिष्ठासँग जोडिएको ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजनामा अनेक अवरोध भएको गुनासो आयोजकले गरेको छ ।
नवौं संस्करणको गोल्डपको हिसाबकिताब सार्वजनिक गर्न बिहीबार मोरङ उद्योग व्यापार संघको हलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले गोल्डकपलाई असफल बनाउन विभिन्न प्रपञ्च गरिएको आरोप लगाएको हो । विशेष गरेर कोशी प्रदेश सरकारप्रति आयोजक रुष्ट देखिएको छ ।
गोल्डकपको नवौं संकरणका संयोजक नवीन रिजालले विषम परिस्थितिमा प्रतियोगिता सम्पन्न गरिएको बताए । ‘गोल्डकपमा अत्यधिक राजनीति भयो । असफल बनाउने धेरै प्रयासहरु भए । सरकारबाट दिने भनेको पैसामा समेत ‘बार्गेनिङ’ गरियो । फुटबलप्रति यति धेरै राजनीति र ‘बार्गेनिङ’ हुनु दुःखद् हो । आगामी दिनमा यस्तो नगर्न म आग्रह गर्छु,’ उनले भने ।
यस्तै अवस्था रहिरहने हो भने आगामी दिनमा फुटबल आयोजना गर्न गाह्रो पर्ने रिजाल बताउँछन् । गोल्डकपका नाममा राजनीति नगर्न आग्रह गर्दै उनले धेरै संख्यामा निःशुल्क पास बाँड्नु पर्दा हैरान भएको अनुभव सुनाए । ‘फाइनल प्रतियोगितामा मात्रै १ हजार ८ सयभन्दा बढी पास निःशुल्क बाँड्नुपर्ने अवस्था आयो । प्रायोजक र संघ संस्थाहरुको चित्त बुझाउनै गाह्रो रहेछ,’ रिजाल भन्छन्, ‘तर, विषम परिस्थितिमा पनि प्रतियोगिता गरेर घाटा भइरहेको विगतलाई सुधार गर्दै गोल्डकपलाई नाफामा लैजान सफल भइएको छ । असफल बनाउने अनेक प्रयास भए पनि हामी सफल भयौं ।’
सबै पक्षको साथ र सहयोगकै कारण गोल्डकपमा संकलन भएको केही रकम बचाउन सकिएको उनले बताए । ‘जहाँ–जहाँबाट पैसा आउनुपर्ने थियो, आएन । असफल बनाउने धेरै प्रयासहरु भए,’ उनी भन्छन् । उनले आगामी प्रतियोगिता ट्रष्टले आयोजना गर्नुपर्ने बताए । उनले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग विराटनगरका लागि उपयुक्त हुने मौसमलाई आधार बनाएर खेल तालिका उपलब्ध गराउन पनि आग्रह गरे ।
रिजालले विराटनगरको सहिद मैदानमा फ्लडलाइटको दुरुपयोग गर्न नहुने र गोल्डकपमा निःशुल्क पासको व्यवस्था बन्द गर्नुपर्ने पनि बताए । संविधानसभा सदस्य एवं उद्योगी पवनकुमार सारडा, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, पूर्वअध्यक्ष प्रकाश मुन्दडा, एन्फाका केन्द्रीय सदस्य दीपेन्द्र धिमाललगायतले विराट गोल्डकपलाई भविष्यमा पनि जीवितै राख्नुपर्ने बताए । ‘यसले निरन्तरता पाउनुपर्छ । त्यसका लागि सबैले सहयोग गरौं,’ उनीहरु भन्छन् ।
‘पूर्वमुख्यमन्त्री केदार कार्कीले सहयोग गरेनन्’
विराट गोल्डकप ट्रष्टले पूर्वमुख्यमन्त्री केदार कार्कीले विराट गोल्डकप आयोजनामा असहयोग गरेको गुनासो गरेको छ । पत्रकार सम्मेलनमा ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले कार्की मुख्यमन्त्री हुँदा २०८० सालको प्रतियोगितामा प्रदेश सरकारबाट कुनै पनि सहयोग नपाएको गुनासो गरे । ‘केदार कार्की मुख्यमन्त्री हुँदा गोल्डकप आयोजनका लागि २५ लाख रूपैयाँ सहयोग गर्ने प्रतिबद्धता प्रदेश सरकारले गरेको थियो । तर, त्यो रकम अहिलेसम्म पाउन सकिएको छैन,’ शाहीले भने ।
उनका अनुसार तत्कालीन सरकारको असहयोगका कारण घाटा पूर्ति गर्न नसक्दा गोल्डकपले नोक्सानी बेहोर्नु परेको थियो । ‘ठूलै रकम घाटा हुने थियो । तर, सबैतिर हारगुहार गरियो । प्रदेश सरकारले भने बोल्यो मात्रै, सहयोग गरेन,’ उनी भन्छन् । २५ लाख उपलब्ध गराउने प्रतिबद्धता जनाएका तत्कालीन मुख्यमन्त्री कार्की आफूले भने टिकट काटेर गोल्डकप हेरेको भन्दै आफ्नो प्रचारप्रसार गराएर सस्तो लोकप्रियता बटुलेको ट्रष्टको आरोप छ ।
त्यतिबेला कार्की आफूले टिकट काटेर गोल्डकप हेरेको भन्दै धेरै प्रचार गरिएको थियो । ‘मुख्यमन्त्रीले नै पैसा तिर्दै टिकट काटेर खेल हेरेको भन्दै टिभीका क्यामेरा तेस्र्याएर अत्यधिक प्रचार गरियो । तर, प्रदेश सरकारले दिने भनेको २५ लाख रूपैयाँ उपलब्ध गराइएन । त्यसमा तत्कालीन मुख्यमन्त्री कार्कीले चासै दिनु भएन । त्यो रकम उपलब्ध गराउन बारम्बार आग्रह गर्दा ‘बार्गेनिङ’ गर्न खोजियो,’ अध्यक्ष शाही भन्छन् । उनले एन्फासँग समन्वय गरेर अबको १ महिनाभित्रमा आगामी प्रतियोगिता अर्थात् गोल्डकपको दशौं संस्करणका बारेमा टुंगो लगाइने जानकारी दिए ।
पूर्वमुख्यमन्त्री कार्कीले भने क्याविनेटबाट निर्णय गराउन नपाउँदा सहयोग गर्न नसकिएको बताए । ‘सहयोगको मौखिक प्रतिबद्धता जनाइएको थियो । टिप्पणी उठाएर सामाजिक विकास मन्त्रालयमा पनि पठाइयो । त्यहाँबाट निर्णयका लागि क्याविनेटमा पठाइएन । क्याविनेटले निर्णय नगरिकन बजेटमा नभएको पैसा त्यत्तिकै दिने कुरा भएन । निर्णय हुन नपाउँदै मेरो पद गइगयो,’ उनले भने ।
सरकारी पैसा प्राप्त गर्ने प्रक्रिया ट्रष्टले नबुझेर समस्या भएको कार्की बताउँछन् । ‘क्याविनेटबाट निर्णय हुन नसक्दा विराट गोल्डकपको मात्रै नभएर खेलकुदमा धेरैतिरको पैसा पठाउन पाइएन । मुख्यमन्त्रीले गोजीबाट र घरको दिने कुरा हैन । पैसा सरकारले दिने हो । प्रक्रियाविपरीत दिन सक्ने कुरो भएन,’ उनी भन्छन् ।
करिब ३ लाख नाफा
गोल्डकपको नवौं संस्करण सम्पन्न भएको ८ महिनापछि हिसाबकिताब सार्वजनिक गरिएको छ । करिब ३ लाख रूपैयाँ नाफा देखाएर बिहीबार गोल्डकपको आयव्यय विवरण सार्वजनिक गरिएको हो ।
उद्योगी रिजालको संयोजकत्व र विराट गोल्डकप ट्रष्टको समन्वयमा प्रतियोगिता २०८१ फागुन १९ देखि २८ गतेसम्म विराटनगरको सहिद रंगशालामा आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा २ लाख ९४ हजार ३ सय ७४ रूपैयाँ ३४ पैसा नाफा भएको रिजालले बताए ।
उनका अनुसार १ करोड ७ लाख २१ हजार १ सय ८७ रूपैयाँ आम्दानी हुँदा १ करोड ४ लाख २६ हजार ८ सय १२ रूपैयाँ ६६ पैसा खर्च भएको छ । प्रयोजकबाट ५० लाख ४८ हजार ७ सय ४०, टिकट बिक्रीबाट २३ लाख ९ हजार ५ सय, विराटनगर महानगरपालिकाबाट १४ लाख ८२ हजार ९ सय ९२, कोशी प्रदेश खेलकुद विकास बोर्डबाट ५ लाख ९२ हजार ४५, कोशी प्रदेश सरकारबाट ४ लाख ९२ हजार ५ सय, नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री उद्धव थापाको संसद विकास कोषबाट ४ लाख ९३ हजार ३ सय १०, राष्ट्रिय खेलकुद परिषद्बाट २ लाख ९५ हजार ५ सय र अन्यबाट ६६ हजार रूपैयाँ आम्दानी भएको रिजालले बताए ।
केही ठाउँबाट अझै रकम उठ्न बाँकी रहेको र प्रतिबद्धता जनाएका कतिपयले सहयोग नगरेको रिजालले बताए । गोल्डकपको सातौं र आठौं संस्करणले भने नोक्सानी बेहोर्नु परेको थियो । लगातार २ वर्ष घाटामा गएको गोल्डकपको नवौं संस्करण भने नाफा कमाउन सफल भएको हो । ‘घाटामा गइरहेको गोल्डकपलाई नाफामा लैजान सफल भयौं,’ गोल्डकपका संयोजक रिजाल भन्छन्, ‘तर, बजारमा अझै पनि केही रकम संकलन हुन बाँकी छ ।’
उनका अनुसार प्रदेश सरकार र खेलकुद विकास बोर्डबाट अपेक्षाकृत सहयोग पाउन सकिएन । फागुन २८ गते सम्पन्न गोल्डकपको उपाधि भिडन्तमा डार्बी क्लब ललितपुरलाई २–० गोल अन्तरले निराश बनाउँदै थ्री स्टार क्बलले उपाधि उचालेको थियो । विजेता टिमलाई ११ लाख र उपविजेता टिमलाई ५ लाख नगद पुरस्कार प्रदान गरिएको थियो ।
विराट गोल्डकप ट्रष्ट आफैंले आयोजना गरेको आठौं संस्करणमा २२ लाख ६२ हजार रूपैयाँ र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको संयोजकत्वमा सम्पन्न सातौं संस्करणमा ८७ लाख रूपैयाँ बराबरको नोक्सानी भएको विवरण सार्वजनिक गरिएको थियो ।
गोल्डकपको इतिहास
विराटनगरको मात्र नभएर नेपालकै ऐतिहासिक गोल्डकप हो ‘विराट गोल्डकप’ । २०१८ सालमा तत्कालीन राजा महेन्द्रका नाममा ‘श्री ५ महेन्द्र गोल्डकप फुटबल प्रतियोगिता’ नाम दिएर गोल्डकप सुरु भएको हो । श्री ५ महेन्द्र गोल्डकप फुटबल ट्रष्टले प्रतियोगिता गर्दै आएको थियो ।
तर, २०६२/०६३ को राजनैतिक परिर्वतनसँगै गोल्डको नाम २०६८ सालमा परिवर्तन गर्दै विराट गोल्डकप राखियो । २०१८ सालदेखि २०६० सालसम्म भएका प्रतियोगितामा नेपालका चर्चित क्लबका साथै भारतको पनि चर्चित ‘ए’ डिभिजन क्लब र भुटानको ‘ए’ डिभिजन क्लबको सहभागिता हुने गरेको थियो ।
२०६० सालदेखि राजनैतिक कारणबाट प्रतियोगिता बन्द भयो । त्यसबेला माओवादीको सशस्त्र द्वन्द्वका कारण राजाको नामबाट प्रतियोगिता गर्न नसकेपछि स्थगित भएको हो । २०६२/०६३ को राजनैतिक परिवर्तनपछि लामो समय राजाकै नामबाट प्रतियोगिता गर्ने र देशमा राजनैतिक परिवर्तन भएका कारण राजाको नामबाट गर्न हुँदैन भन्ने बीच विवाद बढ्यो । तर, २०६७ सालमा नाम परिवर्तन गर्दै विराट गोल्डकप फुटबल ट्रष्टको स्थापना गरेर ‘विराट गोल्डकप’ नामाकरण गरियो ।
पछिल्लो समय भएका प्रतियोगितामा भारतको नाम मात्रैका क्लबहरुको सहभागिता हुन थालेपछि प्रतियोगितामा दर्शकको उपस्थित कम हुन थालेको हो । फुटबल क्षेत्रका अगुवाहरुका अनुसार यहाँका दर्शकहरुको चाहना भारतका चर्चित क्लबहरुको सभागिता हो । भारतका चर्चित क्लबहरु आउने हो भने यहाँ दर्शकको भीड हुने उनीहरु बताउँछन् ।
प्रायः प्रतियोगितामा दर्शकको खडेरी हुने गरेको छ । मोफलमा पहिलोपटक फ्लडलाइटको सहाराले रात्रिकालीन फुटबल खेलको सुरुवात रिजालकै पालामा भएको हो । विराटनगरमा भएको रात्रिकालीन खेलपछि देशको अन्य भाग पनि रात्रिकालीन फुटबल सुरु भयो ।

























