
काठमाडौं । अबदेखि नेपाल प्रहरीका वरिष्ठ सई (वरिष्ठ प्रहरी नायव निरीक्षक)सम्मका दर्जाले २ लाखसम्मको अकस्मिक कर्जा पाउने भएका छन् ।
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरीको सहुलियत कर्जा बढाउने पहिलो निर्णय गरेका हुन् । आईजीपीको दर्ज्यानी चिन्ह लगाएपछि प्रहरी प्रधान कार्यालयमा कार्यभार सम्हाल्दै उनले सहुलियत कर्जा बढाउने निर्णय गरे ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेका अनुसार पीसीसी (पोलिसी कोअर्डिनेशन कमिटी)बाट यो निर्णय पारितसमेत भइसकेको छ । आकस्मिक अवस्थाका लागि आकस्मिक सहुलियत अल्पकालीन कर्जा दिइने छ ।
यसका लागि १० करोड रुपैयाँ छुट्याउन लागिएको छ । शिक्षा, स्वास्थ्य तथा घरायसी समस्यामा प्रहरी कर्मचारीलाई कार्यविधि बनाएर यस्तो कर्जा दिन दिइने छ । प्रहरीमा ५ प्रतिशतका दरले यस्तो कर्जा उपलब्ध गराउँदै आइएको छ । यस्तो कर्जा लिने १ वर्षभित्र तिरिसक्नुपर्छ ।

























