
काठमाडौं । नेपाली हक्की खेलका मुख्य प्रशिक्षक रञ्जन थापा अनिवार्य अवकाशमा गएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एक कार्यक्रमको आयोजना गर्दै मुख्य प्रशिक्षक थापाको बिदाइ गरेको छ ।
बिदाइका क्रममा उनले नयाँ युवापुस्ताका खेलाडीको पहिचान र विकाससँगै खेल क्षेत्रलाई निरन्तरता दिने बताए । मुख्य प्रशिक्षकबाट विश्राम लिएको बताएका थापाले खेल क्षेत्रमा आफ्नो सक्रियतामा भने कुनै कमी नआउने स्पष्ट पारे ।
समग्र नेपाली खेलकुद र हक्कीका लागि आगामी दिनमा समेत बलियो उपस्थिति जनाउने खेलको विकासमा खटिने थापाले प्रस्टाए । मोरङको हसनदहमा जन्मिएका थापा हक्कीका पूर्वअन्तर्राष्ट्रिय खेलाडीसमेत हुन् ।
२०५२ सालमा पहिलोपटक थापाले नेपालका लागि सातौं साफमा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । सोही वर्ष थापा करारतर्फबाट सहायक हक्की प्रशिक्षकका रुपमा राखेपमा जोडिएका थिए ।
२०६१ सालमा स्थायी भएका थापाले हक्कीको मुख्य जिम्मेवारी पाए । उनको प्रशिक्षणमा पाकिस्तानमा आयोजित अन्तर्राष्ट्रिय हक्की प्रतियोगितामा नेपाली टोलीले तेस्रो स्थान हासिल गरेको थियो ।
त्यसै गरी, थाइल्याण्डमा आयोजित एसियन इन्डोर महिला पुरुष हक्की प्रतियोगितामा उनी मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहेका थिए । उनको बिदाइका क्रममा परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, कर्मचारी संघका अध्यक्ष सरस्वती केसी भन्डारी, बोर्ड सदस्य भानुबहादुर चन्द लगायतको उपस्थिति रहेको थियो । थापा २०६९ सालबाट २ कार्यकाल नेपाल कर्मचारी संघको अध्यक्षको जिम्मेवारीमा रहेका थिए ।

























