
विराटनगर । नेपाल प्रिमियर लिग(एनपीएल)मा सहभागी टोली विराटनगर किंग्स र एभरेस्ट बैंकबीच आइतबार सम्झौता भएको छ । मुख्य प्रयोजनको सम्झौता भएकाे हाे ।
एभरेस्ट बैंकका तर्फबाट कोशी प्रदेशका प्रमुख सुधीर गौतम र विराटनगर किंग्सकाे तर्फबाट बैंकेटेस मुन्दडाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । रकम र समयवधि भने खुलाइएको छैन ।
सम्झौता हस्ताक्षर कार्यक्रममा किङ्ग्सका मालिक मध्येका एक पारस लुनियाले दोस्रो संस्करणका लागि टोली बलियो बनेको दाबी गरे । ‘बैंकले गतवर्ष पनि हामीलाई विश्वास गर्नुभयो र यसवर्ष पनि गर्नु भएको छ,’ उनले भने,’विगतको खेलमा भएका कमीकजोरीलाई समीक्षा गर्दै यसपटक अन्तर्राष्ट्रिय खेलाडीलाई हाम्रो टोलीमा समावेश गर्न सफल भएका छौं ।’
भारतको मुम्बईमासमेत केहीसमय प्रशिक्षण गरेको बताउँदै उनले टोलीमा विदेशीसहित अनुभवी खेलाडीको उपस्थिति रहेको बताए ।
नेपाली क्रिकेटको विकासमा निजी क्षेत्र तयार रहेको बताउँदै उनले सरकार भने क्रिकेटको विकासमा उदासिन रहेको गुनासो गरे ।
यसअघि विराटनगर किंग्सले नेमाटो, पिएलओ, डेल्भिस, सिंगारपुर बेभरेज,एमएम ग्रुप, सुबिसु र हुलास फुडसँग प्रायोजनको सम्झौता गरिसकेको छ ।
एनपीएल सोमबारदेखि सुरु हुँदैछ । मंगलबार विराटनगर किंग्सको खेल पोखरासँग छ ।
एनपीएलको पहिलो संस्करणमा विराटनगर किंग्स छैटौं स्थानमा पुगेको थियो । विराटनगरले २ वटा खेलमात्रै जितेकाे थियाे ।

























