
विराटनगर । विराटनगरको अर्किड कलेजले आयोजना गरेको ‘अर्किड मिनी म्याराथन’ प्रतियोगितामा छात्रतर्फ मुकेश नुनिया र छात्रातर्फ शर्मिला मोक्तान प्रथम भए ।
कलेजले अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको अवसरमा आन्तरिक विद्यार्थीहरूबिच सोमबार बिहान म्याराथन प्रतियोगिताको आयोजना गरेको हो ।
संसारी माईस्थानबाट सुरु भएको म्याराथन ट्राफिक चोक, गोल्छा चोक, सिडियो कार्यालय, वीरेन्द्र सभागृह, अस्पताल चोक, जलजला चोक, मेन रोड हुँदै कलेजको गेटमा पुगेर सम्पन्न भएको थियो । त्यस क्रममा प्रतियोगीहरूले ५ किलोमिटर दूरी पार गरेका थिए ।

प्रतियोगितामा छात्रतर्फ मुकेश नुनिया प्रथम, प्रज्ज्वल कार्की दोस्रो र सौरभकुमार सरदार तेस्रो स्थान भए । छात्रातर्फ शर्मिला मोक्तान प्रथम, निरिता राजवंशी दोस्रो र कृतिका ऋषिदेव तेस्रो भए । प्रतियोगिताका विजेताहरूले नगद ३ हजार, २ हजार र १ हजार, ट्रफी प्राप्त गरे ।
सो अवसरमा कलेजका अध्यक्ष अमित ढकाल, निर्देशक दिपेश बाँस्तोला, कलेजका प्रिन्सिपल मनिष भट्टराई, अन्तर्राष्ट्रिय एथलेट अनिरुद्ध चौधरीलगायतको उपस्थिति रहेको थियो ।

























