
इलाम । इलामको रोङ गाउँपालिका–६, सलकपुर यति बेला सुनौला सुन्तलाले पहेँलपुर भएको छ । बोटभरि लटरम्म पाकेका सुन्तलाको यो दृश्यले अहिले यहाँ पर्यटकको आगमन ह्वात्तै बढाएको छ ।
सलकपुरको झन्डै ९० हेक्टर क्षेत्रफलमा व्यावसायिक सुन्तला खेती हुँदै आएको छ। यहाँ पाकेका सुन्तलाका दाना बोटबाटै टिपेर खानका लागि मात्र होइन, तिनको सुन्दरता क्यामरामा कैद गर्न पर्यटकको भीड लाग्ने गरेको छ ।
लटरम्म सुन्तलाका बोटहरूमा फोटो, भिडियो खिच्न र टिकटक बनाउनका लागि आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गरेको छ । सलकपुरका करिब ३० घरमा घरबास (होमस्टे) सञ्चालनमा छन्। वडा अध्यक्ष सत्यम राईका अनुसार प्रत्येक हप्ताको शुक्रबार र शनिबार यहाँ का सबै होमस्टे पर्यटकले भरिभराउ हुन्छन् ।
दैनिक करिब एक सयको हाराहारीमा आन्तरिक पर्यटक सुन्तला पछ्याउँदै आउने गरेको उनले बताए। इलाम, झापा, मोरङ, सुनसरीदेखिका आन्तरिक पर्यटक मात्र नभई छिमेकी मुलुक भारतको सिलिगुढी, दार्जिलिङ र कोलकातातिरका पर्यटकसमेत यहाँ आउन थालेको वडा अध्यक्ष राईले जानकारी दिए ।
लामो समयदेखि सुन्तलाको व्यावसायिक खेती गर्दै आएका मदन बिमलीका अनुसार यस वर्ष उनको बारीमा तीन वर्ष यताकै सबैभन्दा राम्रो सुन्तला फलेको छ । उनले बोटबाटै प्रतिकेजी १३० रुपैयाँमा सुन्तला बिक्री गरिरहेको बताए।
पर्यटकलाई आकर्षित गर्न बगान खुल्ला गरिए पनि जथाभावी सुन्तला टिप्न भने नपाइने नियम बनाइएको बिमलीको भनाइ छ । फोटो, भिडियो र टिकटक बनाउनका लागि सुन्तला बगान खुल्ला रहे तापनि जथाभावी टिप्न रोक लगाइएको उनले बताए ।
सलकपुरमा विसं २००४ मा दार्जिलिङबाट आएर बसोबास गरेका गौरीलाल लामाले सुन्तला खेतीको सुरुवात गरेका थिए । सुरुमा दार्जिलिङबाट बिरुवा ल्याएर खेती सुरु गरिए पनि हाल पाल्पाबाट उन्नत जातका सुन्तलाको बिरुवा ल्याएर व्यावसायिक खेती भइरहेको छ ।

























