
विराटनगर । युवाहरूलाई रोजगारीसँग जोड्दै स्वदेशमै रोजगारीका नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले उद्योग संगठन मोरङ र एसओएस चिल्ड्रेन्स भिलेज नेपाल बीच सहकार्य हुने भएको छ ।
संगठनको सचिवालयमा आयोजित छलफलमा दुवै संस्थाका प्रतिनिधिहरूले हाल युवाहरू अवसर नपाएर विदेशिन बाध्य भइरहेको अवस्थामा यस्तो साझेदारीले उनीहरूलाई प्रत्यक्ष रोजगारीका अवसरसँग जोड्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
एसओएस नेपालका परियोजना निर्देशक डिसी चौधरीले उद्योगहरूमा योग्य, परिश्रमी र सीपयुक्त जनशक्तिको माग बढिरहेको वर्तमान अवस्थामा युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्नु सबैको साझा दायित्व भएको बताए । उनले युवाहरूलाई सही मार्गदर्शन र अवसर प्रदान गर्न सके उनीहरू औद्योगिक विकासका लागि महत्वपूर्ण ऊर्जा बन्न सक्ने धारणा राखे ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले संगठनले युवाहरूलाई रोजगारीसँग अभिमूख गराउन ‘स्कूल–टु–वर्क’ कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिए । उनले संगठनले सञ्चालन गरेका स्टार्टअप एण्ड इनोभेसन, सीपमूलक तालिम, र सीप उत्सव जस्ता कार्यक्रमहरू सफल भएको उल्लेख गर्दै आगामी दिनमा युवामुखी कार्यक्रमहरूले उद्यमशीलता विकास, स्वरोजगार र रोजगारीको क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छा र विपिन काबराले निजी क्षेत्र र युवाबीचको सम्बन्धलाई बलियो र दिगो बनाउन निरन्तर संवाद र सहकार्य अत्यन्त आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा उद्योग संगठन मोरङका कार्यसमिति सदस्यहरू, महिला उद्यम समितिका सदस्यहरू, एसओएसका प्रतिनिधि तथा युवाहरूको सहभागिता थियो ।

























