
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत शनिबारका खेलका सबै टिकट बिक्री भइसकेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले उपलब्ध सबै टिकट बिक्री सम्पन्न भएको जनाएको हो।
क्यानले रंगशाला बाहिर भीडभाड र अनावश्यक रूपमा मैदान वरपर नबस्न आग्रह गरेको छ । क्यानका सचिव पारस खड्काले टिकट लिन नपाएका दर्शकहरुलाई सबै टिकट बिक्री भैसकेकाले मैदान वरपर हुलहुज्जत हुने भएकाले घरमै बसेर खेल हेर्न अनुरोध गरेका छन्।
यसपटक सिट क्षमता निश्चित गरिएको कारण क्यानले करिब आठ हजार टिकट मात्रै सर्वसाधारणका लागि बिक्रीमा उपलब्ध गराएको थियो । त्यस्तै, करिब दुई हजार टिकट खेलाडीका परिवार, आयोजक, प्रायोजक तथा विशेष समूहका लागि छुट्याइएको क्यानले जनाएको छ । थप करिब तीन हजार सिट पदाधिकारी, खेल सम्बन्धी अधिकारी तथा पाहुनाका लागि सुरक्षित राखिएको छ ।
शनिबार पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाज भिड्ने छन् ।

























